नेभिगेशन
समाज

चौरजहारी घटना : सिडियोको संयोजकत्वमा छानबिन समिति गठन, क्षतिपूर्ति र रोजगारको सहमति

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ निवासी ५० वर्षीय गंगाधर शर्माको उपचारको क्रममा मृत्यु भएको घटनाको बिषयमा सहमति भएको छ । 

अस्पतालको लापरबाहिले मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्त र चौरजहारी नगरपालिकाद्वारा गठित वार्ता समिति बिच सहमति भएको हो । 

मंगलबार बिहान सात बजे नगर अस्पतालमा टाउको दुखेको र ज्वरो आएको भन्दै नगरपालिकाको वडा नम्वर १० स्थित सहिद स्मृति नगर अस्पतालमा उपचारका लागि जानु भएका जैसीको सोहि दिन दिउँसो निधन भएको थियो । डेंगीको कारण उहाँको मृत्यु भएको अस्पतालको भनााइ छ । 

आफन्तजनहरुले समयमै उपचार नगरेको, अवस्था गम्भिर बन्दै गएपछि पनि रिफर नगरेको, बिरामी सिरियस हुँदै जाँदा रिफर माग गर्दा दूव्र्यवहार गरिएको भन्दै घटनाको छानबिन हुनुपर्ने बताएका थिए । 

घरबाट सजिलै अवस्थामा अस्पताल गएका बिरामीको अकस्मात मृत्यु भएपछि मृतकका आफन्तहरुले घटनाको छानबिन, दोषिलाई कारबाहि र क्षतिपूर्तिको मागसहित बुधबार आन्दोलन गरेका थिए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएतापनि पोष्टमार्टम नगरेर मृतकका आफन्तहरुले नगर अस्पतालमा तालाबन्दी गरेर नगरपालिका कार्यालयमा आन्दोलन गरेका थिए । 

आन्दोलन पश्चात नगरपालिकाको आकस्मिक कार्यपालिका बैठक बसेर सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्वर ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । जनप्रतिनिधिहरु, अस्पताल व्यवस्थापन समिति, मृतकका आफन्तहरु समावेश वार्ता टोलीले विभिन्न चार निर्णय गरेको छ ।  

बैठकले घटनाको छानबिनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन टोली गठन गर्ने, मृतकका परिवारको पालनपोषणका लागि आर्थिक सहयोग गर्ने, मृतकको परिवारको छोरा वा छोरीलाई योग्यताको आधारमा रोजगारीका अवसर दिने र उपचार तथा पोष्टमार्टमको लागि नगर अस्पतालबाट चौरजहारी अस्पताल, जिल्ला अस्पतालसम्म आउजाउ गर्दाको सवारी साधन खर्च र शव व्यवस्थापन खर्च उपलब्ध गराउने सहमति भएको मृतकका छोरी निता शर्माले जानकारी दिनुभयो । 

बैठकमा भएको सहमति पश्चात आन्दोलन रोकिएको छ भने बिहिबार मृतको शव पोष्टमार्टमको प्रक्रिया सुरु भएको छ । मृतकका एक श्रीमति, एक छोरा र दुई छोरी हुनुहुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्