नेभिगेशन
राजनीति

दुई महिने श्रम तथा उत्पादन अभियानमा रुकुमका वाईसीयल

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीयल) ले श्रम तथा उत्पादन अभियान सञ्चालन गरिरहेकाे छ । गाउँस्तरमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेर यो अभियान सञ्चालन गरेको वाईसीयलले जनाएको छ । 

वाईसीयलका जिल्ला अध्यक्ष एल.बि.कटुवालका अनुसार यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ । यो अभियान अन्तर्गत सडक मर्मत तथा सरसफाई, सार्वजनिक स्थानको सफाई, वृक्षारोपन, कृषि र उत्पादनका कार्यमा स्वयम्सेवा लगायतका कार्यहरु पर्नेछन् । 

जिल्लाको चौरजहारी नगपालिकाबाट सुरु भएको यो अभियान हालसम्म पाँच वटा पालिकामा उद्घाटन गरिएको अध्यक्ष कटुवालले जनाउनुभयो । सम्बन्धित पालिकास्थित कमिटीको आयोजनामा हुने उक्त अभियानमा वाइसीयलका केन्द्र तथा जिल्लास्तरका युवाहरुको सहभागिता रहने गरेको छ ।

यसका साथै पार्टीका जिम्मेवार पदाधिकारीहरु समेत श्रम अभियानमा सहभागि हुने गरेको वाइसीयल रुकुम पश्चिमले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र) बाँफिकोटका सचिव तुल देवकोटाले राजनीतिमा जोडिएका युवाहरुले रचनात्मक र सामाजिक कार्यमार्फत योगदान दिन सक्छन् भन्ने उदाहरणीय काम वाईसीयलले गरेको जनाउनुभयो । उहाँले गाउँका सडक मर्मत गर्ने, नाला बनाउने, वृक्षारोपण गर्ने, सार्वजनिक स्थल सरसरफाई गर्ने कार्यले असल सन्देश प्रभाव भएको बताउनुभयो ।

वाइसीयलले चौरजहारी नगरपालिकामा चौरजहारी–खोलागाउँ सडकखण्ड अन्तर्गत विजयश्वरीसम्म सडकको सडक र नाली सफा गर्नुका साथै सडक आसपासमा रहेका झारपात तथा झाडी हटाएको छ । त्यसैगरी आठबिसकोट नगरपालिका ११ को सिमबजार नजिकको भेरीनदी कटानको जोखिममा रहेको क्षेत्रमा सिसौ, बकाइना लगायतका २५० बिरुवा रोपिएको छ । भेरी नदीको कटान रोक्न मदत पुगोस् भनेर वृक्षारोपण गरिएको हो भने नगरपालिका केन्द्रको सिम बजारमा सरसफाइ गरिएको हो । 

मुसिकोट नगरपालिका ५ स्थित सहिद प्रतिष्ठानको सभाहल परिसरमा अभियान चलाएर झाडी हटाएईनुका साथै फोहर व्यवस्थापन गरिएको वाईसीयलले जनाएको छ । बाँफिकोट गाउँपालिकाको केन्द्र देखि नेटा पोखरा बजारसम्मको दुई सय मिटर सडकको मर्मत तथा सरसफाइ पनि सोहि अभियान अन्तर्गत गरिएको छ । त्रिवेणी गाउँपालिकामा वडा नम्बर २ स्थित त्रिवेणी मावि सिम्रुतुको परिसर सरसफाइ गरिएको छ ।

वाइसीयललाई श्रम र उत्पादनमा जोड्नका लागि केन्द्रीय कमिटीको परिपत्र अनुसार जिल्लामा अभियान चलाएको वाईसीयलले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्