नेभिगेशन
घटना/दुर्घटना

ठूलीभेरीमा टिप्परसँगै बेपत्ता तीन जनाकै शव भेटियो

गत मंगलबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव सुर्खेतमा फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका -८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक मितिमा सुर्खेतमा फेला परेको हो । 

यति बिल्डर्स प्रा.लि.मा जेसिभि अपरेटर पदमा कार्यरत धनबिरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो भने सोमबार मात्र मृतकका दाइले शवको पहिचान गरेको डिससपी बिष्टले जनाउनुभयो । टिप्पर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका -२ खोचीस्थित भेरी नदी किनारमा फेला परेको थियो ।

गत मंगलबार (साउन ६ गते) साँझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो ।

वडा नम्बर ११ को चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ जाँदै गरेको टिप्पर भेरीनदिमा खस्दा टिप्परमा रहेका तीनै जना बेपत्ता भएका थिए । टिप्परको अगाडिको भाग भने बुधबार घटनास्थलभन्दा करिब चार सय मिटर तल नदिको जाजरकोटतर्फको भागमा फेला परेको थियो । 

सम्बन्धित समाचार ...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना