नेभिगेशन
राजनीति

गणतन्त्रको रक्षा र समाजवादी क्रान्तिको लागि अपिल गर्न रुकुम आएको हुँ : प्रचण्ड

'पार्टीभित्र अप्ठ्यारो पर्दा रुकुम रोल्पालाई सम्झिन्छु'

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भईरहेको बताउनुभएको छ । 

माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा भएको विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनताको संघर्ष, त्याग, रगत र पसिनाको उपलब्धीको रुपमा रहेको गणतन्त्र रक्षाका लागि नयाँ क्रान्तिको अपिल गर्न रुकुम आएको उहाँले उल्लेख गर्नुभयो । 

माओवादीले सञ्चालन गरेको जनयुद्धताका पनि पार्टी भित्र अप्ठ्यारो पर्दा, विचारमा तिब्र मतभेद हुँदा रुकुम, रोल्पा, जाजरकोट, सल्यानका जनतासँग आउने गरेको स्मरण गर्नुहुँदै उहाँले रुकुम क्रान्तिको केन्द्र र किल्ला भएकोले बेला बेला यहि आउने गरेको बताउनुभयो । 

संविधानको रक्षाको लागि माओवादी केन्द्रकै जिम्मेवारी रहेको र त्यो हिम्मत पनि माओवादी केन्दसँगै रहेको उहाँको भनाई छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर समाजवाद ल्याउन माओवादीले जनजागरण अभियान चलाएको जनाउनुभयो । 

कार्यक्रममा उहाँले अहिलेको अवस्थामा सरकार विरुद्ध खबरदारी मात्रै नभएर ईतिहासको अध्ययन र अनूभव गरेर समाजवादीको क्रान्तिको लागि अपिल गर्न अभियानमा होमिएको बताउनुभयो । उहाँले समाजवादी क्रान्तिको तयारीको लागि, सबै खाले उत्पीडित वर्गलाई गोलबन्द गर्न अभियान लिएर मध्यपहाडका जिल्ला आएको प्रष्ट पार्नुभयो । 

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनताको पक्षमा गरेका राम्रा कामहरु नै त्यसको उदाहरण भएको  बताउनुभयो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा कर्णालीको पक्षमा नयाँ र आकर्षक कार्यक्रम ल्याएको तर पछिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत ती योजना हटाएको जनाउनुभयो । अध्यक्ष प्रचण्डले माओवादी सरकारले गरेका राम्रा कामहरु हटाएर वर्तमान उत्पीडित वर्गमाथि अन्याय गरेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा उहाँले आफ्नो नेतृत्वको सरकारले नै मध्यपहाडका जनताको आर्थिक, सामाजिक विविधताको लागि र पहाडलाई तराईसँग जोड्न मध्यपहाडि राजमार्गको योजना अघि सारेको बताउनुभयो । मध्यपहाडि राजमार्गको भेरी पुल लामो समयसम्म अलपत्र परेको उल्लेख गर्नुहुँदै सदनमा जोडदार आवार उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसका साथै उहाँले नयाँ तथा नमूना शहर निर्माणलाई उच्च प्राथमिकता दिने, कृषिमा आधारित औद्योगिकरण स्थापना गर्ने, जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने, जल, जमिन र वनमा आधारित उत्पादनलाई अगाडि बढाउने खालका कार्यक्रममा प्राथमिकता दिने बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति