नेभिगेशन
अर्थ/वाणिज्य

कर्णालीमा चालु आवमै ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

कर्णाली प्रदेशका जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आवमा ५४ पुलका लागि स्रोत सुरक्षित गरेको छ ।

रुकुम पश्चिममा दुई, जाजरकोटमा दुईवटा बेलिब्रिज, सुर्खेतमा दुई मोटरेबल पुल, दैलेखमा दुई, मुगुमा दुईवटा मोटरेबल पुल निर्माण गर्न स्रोत निश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिए ।

त्यस्तै ४० वटा झोलुंगे पुलसमेत निर्माण गर्न स्रोत सुरक्षित गरिएको छ । रुकुम पश्चिममा दुई, जाजरकोटमा एक, कालिकोटमा तीन, दैलेखमा आठ, जुम्लामा चार, सल्यानमा सात, डोल्पामा सात, मुगुमा तीन, सुर्खेतमा चार र हुम्लामा दुई वटा झोलुंगे पुल निर्माण गर्नका लागि बजेट सुरक्षित गरिएको छ । आव २०८३/०८४ मा निर्माण हुने लक्ष्यका साथ स्रोत सुरक्षित गरिएको सूचना अधिकारी काँर्कीले जानकारी दिए ।

बेलिब्रिज एक वर्षभित्र निर्माण हुने र अन्य पुल दुई वर्षभित्र निर्माण गर्ने भन्दै बजेट निश्चित गरिएको छ । चार वर्षदेखि अलपत्र परेका ३५ वटा योजनाको ताकेता गरे पनि परिणाम नआएको सन्दर्भमा यी नयाँ आयोजनाको स्रोत निश्चित गर्दा कामले कस्तो गति लिन्छ भन्ने कुरामा शंका पैदा भएको प्रदेशसभामा सोमबार बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।

दोस्रो पञ्चवर्षीया योजना निर्माण गर्दा प्रदेशसभामा छलफल नै नभएको भन्दै नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले विरोध जनाए । उनले भने, ‘हामी डिजिटल कर्णाली भन्छौँ, तर यहाँ योजना बनाउन कुनै छलफल नै हुँदैन । हामीलाई पनि ईमेल गरेर पठाएको भए हेर्न हुन्थ्यो नि ? हामीसँग छलफल गर्न सरकारसँग समय नभए पनि इमेलमा जानकारी पठाएको भए हेरिन्थ्यो ।’

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको व्यवहार सचिनुपर्ने माग गरे । मैले फोन गर्दा नउठाउने भन्दै उनले भने, ‘हामी विगतका सहमति अनुसार अगाडि बढनुपर्छ । एक लौटी तरिकाले अगाडि बढ्न खोजे हामी यसको हिसाब गर्नेछौं ।’ त्यस्तै प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री वीरबहादुर शाहीले भेरी करिडोरमा अलपत्र परेका पुल कहिले बन्छन् भन्दै प्रश्न गरे ।

‘जगदुल्ला जलविद्युत आयोजनामा निर्माण हुने पुल लामो समयदेखि अलपत्र परेकाले त्यो छिटो निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु । डोल्पाको विकास निर्माणमा अवरोध भइरहेको जानकारी आएको छ, यो कुरा हाम्रो लागि राम्रो भएको छैन ।’ जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्नका लागि भएको अवरोधबारे शाहीले विरोध जनाए । - कारोबार दैनिकबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य