सोसल मिडिया
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका किशोर किशोरीहरु बालविवाह रोकथाम तथा समाजमा रहेका कूरीति कूसंस्कृती निराकरणका लागि आवाज उठाईरहेका छन् ।
जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तह मानिने यस पालिकाका किशोर किशोरीहरुले समाजलाई र त्यहाँका स्थानीयहरुलाई यस्तो जन्जिरबाट मुक्त गर्ने अठोटका साथ हातेमालो गरिराखेका छन् । मगर समुदायको बाहुल्यता, १४ वडा रहेको यस गाउँपालिकामा मगरहरुको आफ्नै कला संस्कृती र रीतिरिवाज रहेका छ । फरक कला फरक संस्कृती र फरकपनामा यहाँका नागरिकहरु रमाईरहेका छन् ।
मगर समुदायमा फूपुको छोरा र मामाकी छोरीबीच अधिकारका साथ विवाह गर्ने चलन रहेको छ । मामाको छोरीलाई श्रीमती बनाउनमा सबैभन्दा पहिलो अधिकार फुपुको छोराको नै रहने दाबी यहाँको समुदायमा रहेको छ । तर पछिल्लो समय भने चलनका नाममा यसले कतै न कतै बिकृती पनि निम्ताएको हो कि भनेर बहस सुरु भएको छ । मामाको छोरी बिहे गर्ने चलन पछिल्लो समय जबरजस्ती विवाहमा परिणत भएको भन्दै गुनासे बढीरहेको छ । यहि चलन कुनैबेला केटा र केटि पक्ष दुबै मिलेर कुरा गरिसकेपछि केटाकेटीको मन चित्त मिलेमा मात्र केटीले इशारा गरेर हुन्छ भनेपछि मात्र बिहे हुन्थ्यो । तर अचेल यो परम्परा विस्तारै परिवर्तन भएको छ । यति मात्र होईन, मगरहरुको अर्को रमाईलो परम्परा भनेको रोदी बस्ने परम्परा हो । जुन परम्पररामा कुनै विशेष कार्यक्रममा केटाकोटी संगै बसेर दोहोरी भाका गाएर रमाईलो गर्ने गरिन्थ्यो । तर अचेल त्यहि रोदी पनि आधुनिक हुदै “छोट्टी बस्ने” नाममा परिवर्तन भएको छ । यसमा नत एक अर्कामा भावनामा डुबेर गीत गाईन्छ ? नत परम्परागत भाकालाई प्रत्साहन दिईन्छ ? आधुनिक “छोट्टी बस्ने” परम्परामा भने जन्ती गएको अवसरमा र मेला पर्वको अवसरमा जबरजस्ती छोरी चेलीलाई लगिन्छ ।
यसरी चलन र संस्कारको नाममा भित्रिरहेका विसंगतीहरुदेखि हैरान भएर पुथा उत्तरगंगा गाउँपालिकाका केही किशोरीहरु यस्ता संस्कारका नाममा बिरोध गर्दै आएका छन् । युएमएन रुकुम पूर्व क्लष्टर, मिक नेपाल र जनजागरण मंच रुकुमको अगुवाईमा उक्त पालिकामा बिभिन्न किशोर तथा किशोरी संजाल तथा बाल क्लबहरु गठन गरिएको छ । तिनै संजाल तथा बालक्लबहरुको अगुवाईमा यस्ता बिकृतीका बिरुद्ध आवाज उठिरहेका छन् ।
आफुले भोगेका तिता अनुभवहरु सुनाउदै पालिकास्तरीय किशोरी मञ्चकी अध्यक्ष बबिता शेर्पालीले समाजका दाजुभाईहरुले छोरी चेलीलाई गरेका अनैतिक क्रियाकलापले नमज्जा लाग्ने गरेको बताउँछिन । उनी भन्छिन, मगर समुदाय कला र संस्कृतिले भरिपूर्ण छ तर संस्कारका नाममा हामीले जे कुरा भोगिरहेका छौ ति कुरा सम्झिदा पनि नमिठो लाग्ने गर्छ । हाम्रो गाउँमा मुख्य समस्या भनेको बालविवाह हो ।
यहाँका किशोरीहरु कतिपय त आफै जानाजान पनि सानै उमेरमा विवाह गरेका हुन्छन तर कतिपय अवस्थामा भने संस्कारका नाममा तानेर लैजाने विवाह र कतिपय अभिभावकको मञ्जुरी मै पनि सानै उमेरको विवाहले कति छोरी भविष्य बिग्रिएको बबिताको भनाई छ ।
कतिछोरी चेलीको सानै उमेरमा विवाह हुन्छ, बच्चा जन्मिन्छ र पनि भविष्यमा गएर श्रीमानले अर्कोे विवाह गरेर अलपत्र पारेका घटना पनि उक्त पालिकाभित्र रहेका छन् । यसै समस्यालाई मध्यनजर गर्दै बबिताको समूहले बालविवाह रोक्ने अठोट गरेका छन् ।
एक पटक गाउँकै एउटा बालविवाहलाई रोक्न विवाह भैरहेको ठाउँमा प्रहरीसहित पुगेर विवाह रोकिएको बबिताले बताईन् । विवाह रोकियो, उनीहरुले केश पनि गरे तर कार्बाहीको नाममा प्रहरी, जनप्रतिनीधि र गन्यमान्य मान्छेहरु पनि मिलेर हामीले कुरो मिलायौँ भन्दै त्यो केशलाई त्यही मिलाए कसैलाई कार्बाही भएन, बबिताले जनाईन् ।
उनीहरुले अहिलेसम्म धेरै बालविवाहका घटना रोक्न खोजेको तर दुई वटामा मात्र सफल भएको उनको भनाई छ । त्यतिबेलाको घटना सुनाउदै सशक्तिकरण किशोरी समूहका अध्यक्ष करिश्मा घर्तिले नानीहरुको भविष्य नबिग्रियोस भनेर रोकेको बालविवाहले उल्टै लज्जित बनाएको बताउछिन ।
करिष्मा भन्छिन, वालविवाह हुदै गरेको थाहा पाउने बितिकै हामी त्यो ठाउँमा पुग्योै । सबैसँग कुरा गरेर, कुरा मिलाएर घर फक्र्यौ तर त्यसको ३ दिनपछि पुनः तिनै केटाकेटी भागेर विवाह गरे भन्ने सुनियो । कुरा बुझ्दै जाँदा अभिभावकले नै भगाएको रैछन ।
यो खबर सुन्दा असाध्यै दुख लागेको तर हिम्मत नहारेको करिश्मा बताउछिन् । समाजका यस्ता नराम्रा कामलाई निरुत्साहितको अठोट लिएका ति किशोरीहरुले आफूले पनि चलनका नाममा रुमल्लिएका संस्कारको फन्दामा परेको बताउछिन् ।
करिश्मालले गाउँको एउटा साथीको जन्ती जाँदाको बृतान्त सुनाईन्, साथीको बिहेको जन्त जाँदा बिहे घरमा पुग्न नपाउदै एक हुल केटाहरु मेरो छेवैमा आए । म झस्किए, मैले केही बोल्न सकिन । के छ साली भन्दै केही केटाहरुले मेरो हात समाउनसम्म भ्याए ।
आँखाभरी आँसु पार्दै उनीले भनिन्, आज गीत गाउदै रमाईलो गर्नुपर्छ है भन्दै रोदी बसेकोसम्म लिए । उनीहरुलाई हात छोड्न अनुरोध गरेको तर जबर्जस्ती गर्न छोडेनन् । पछि एक जना चिनेको सरलाई फोन गर्न लगाएर तिनको कार्यक्रम छ पठाईदिनु भन्न लगाई आफू त्यहाँबाट रातारात घर फर्किनु परेको थियो ।
यसरीे गाउँ र यहाँका नागरिकहरुलाई सकारात्मक मार्गतर्फ लैजानका लागि जस्तोसुकै कठिन काम गरेता पनि कसैको साथ नपाएको गुनासो पनि ति किशोरीहरुले गरेका छन् । जनचेतनामूलक कार्यक्रम गर्न खोज्दा प्रहरी, जनप्रतिनीधिलाई उपस्थितीका लागि हारगुहार गरेता पनि केही न केही निहँु पारेर नआउने गरेको दुखेसो किशोरीहरुको रहेका छ ।
गाउँमा पनि फलानाका छोरीहरु नेता बन्न लाए, यिनिहरु त काम नपाएका हुन लगाएतका बचन सुन्न पर्ने जस्ता समस्याहरु भोग्न परेको छ । तर पनि गाउँका यस्ता कुसंस्कार लाई हटाउन किशोरीहरुले संकल्प गरिरहेको उनीहरु बताउँनछन ।