नेभिगेशन
समाज
जाजरकोट भूकम्पका दुई वर्ष 

दुई वर्षसम्म त्रिपाल र टहराकै बास, पुनर्निर्माणको आश 

जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते दुई वर्ष पुगेको छ । रातको ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षती गरेको थियो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक अनुसार जाजरकोट र रुकुम पश्चिमका १५४ जनाको ज्यान गयो भने २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आशिंक क्षति भएका छन् । ३६४ घाईते घाईते भएका थिए । 

भूकम्प गएको केहि महिना त्रिपालमूनि र त्यसयता टहरामा दैनिकी गुजारीरहेका भूकम्प प्रभावित परिवारहरु सुरक्षित आवासको आशामै रहेका छन् । उनीहरु पुनर्निर्माणको आशा मार्न सकेका छैनन् । विनाशकारी भूकम्प गएको दुई वर्षसम्म पनि प्रभावित नागरिकहरु अस्थायी आवास (टहरा) मै खुम्चिएका छन् ।

भूकम्पको बेला पुनर्निर्माणमा ढिलाई नगर्ने र पीडितकै साथमा रहेको बताएको संघीय सरकारले अस्थायी आवास निर्माणकै कामलाई पुरा गर्न नसकेको गुनासो रहेको छ । भूकम्पबाट श्रीमान् र एक छोरा गुमाउनु भएकी सानीभेरी गाउँपालिका –४ की माया घर्तीले अझै पनि सुरक्षित आवास पाउन नसकेको बताउनुभयो । ‘श्रीमान् र छोरा गुमाए, व्यापार गर्दै आएको घर ध्वस्त भयो,’ उहाँले भन्नुभयो, ‘त्यस्तो बेला त्रिपालमूनि बसेर बाँच्यौ, गर्मीमा टिनको टहरामा उकुमुकुस भयो, अब फेरि चिसो सुरु भयो ।’ 

आठबिसकोट नगरपालिका –१४ की कल्पना बिकले पुस, माघको जाडोमा त्रिपालमूनि र गर्मीयाममा जस्तापाताको टहरामूनि कष्टकर दैनिकी बिताउनु परेको बताउनुभयो । भूकम्पले घरबारबिहिन बनाएको सुरुको केहि महिना कठ्याङिग्रदो चिसो र त्यसपछि चर्को गर्मीको सामना गरेर दिन कटाउन बाध्य भएको बताउनहुँदै उहाँले अझैपनि सुरक्षित आवास पाउन नसकेको गुनासो गर्नुभयो । 

भूकम्पपीडितहरुले पुनर्निर्माणको पखाईमा दुई वर्ष बितेको बताउँछन् । उति बेला ओत लगाउन त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रवन्ध भएतापनि समयमै पूनर्निर्माणको काम हुन नसकेको पीडितहरुको भनाई छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ढिला गरी सुरु गरेको क्षतिको विस्तृत आकलनको काम अझै सकिएको छैन । पीडितहरुले क्षतिको विवरणमा पनि चित्त बुझाएका छैनन् । उनीहरुले सरकारले गम्भिर भएर विवरण संकलन नगरेको, त्रुटीपूर्ण विवरण संकलन गरेको जनाएका छन् । 

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले छ महिना भित्र पुनर्निर्माण सुरु हुने अपेक्षा रहेतापनि दुई वर्षसम्म हुन नसकेको बताउनुभयो । संघीय सरकारले कार्यविधि बनाउन गरेको ढिलाई, विस्तृत क्षति आकलनमा भएको लापरबाहि लगायतका कारणले पुनर्निर्माण सुरु हुन नसकेको उहाँको प्रतिक्रिया रहेको छ । अध्यक्ष बिष्टले पालिकाले पीडित तथा प्रभावितहरुको गुनासो संकलन गरिरहेको र अबको दुई वर्षमो पुनर्निर्माणको काम अन्तिम चणरमा पुर्याउने जनाउनुभयो । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्याङक अनुसार जिल्लाभर ३२ हजार ९९६ घरधुरी लाभग्राही रहेका छन् । दुई हजार दुई जनाले अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताकै रकम पाएका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज