विद्यालय तहमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको भन्दै चौरजहारी नगरपालिका पुरस्कृत

उत्कृष्ट स्थानीय तह, प्रधानाध्यापक र विद्यालयको विवरण 
आइतबार, जेठ २७, २०८१

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ । 

सामुदायिक विद्यालयका प्रधानाध्यापकको छाता संस्था प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान) को शनिबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनमा नगरपालिकाका प्रमुख पुष्प वादीलाई विद्यालय तहमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका स्थानीय तह मध्य पुरस्कृत तथा सम्मान गरिएको हो । 

कार्यक्रममा विद्यालय तहमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका स्थानीय तह, सामुदायिक विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ । 

पानले गठन गरेको मूल्याङ्कन समितिले विभिन्न सूचकको आधारमा ती व्यक्ति तथा निकायलाई सम्मान गर्न सिफारिस गरेको थियो । मूल्याङ्कन समितिको सिफारिसको आधारमा सातै वटा प्रदेशबाट सात पालिका, सात विद्यालय र सात जना प्रधानाध्यापकलाई पुरस्कृत गरिएको हो । 

पानका अनुसार कर्णाली प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) चौरजहारी नगरपालिका रुकुम पश्चिम, उत्कृष्ट विद्यालयतर्फ चन्दननाथ नमुना मावि खलङ्गा जुम्ला र उत्कृष्ट प्रधानाध्यापकमा यामबहादुर श्रेष्ठ, जन नमुना मावि, वीरेन्द्रनगर, सुर्खेतलाई सम्मान गरिएको छ ।

त्यसैगरी कोशी प्रदेशबाट पुरस्कृत हुनेमा उत्कृष्ट पालिकातर्फ इलामको सूर्योदय नगरपालिका, विद्यालयतर्फ सुकुना मावि सुन्दरहरैँचा, मोरङ र मनकामना रत्न अम्बिका मावि सङ्खुवासभाका प्रधानाध्यापक कुबेरप्रसाद भेटवाल रहेका छन् । 

त्यस्तै मधेश प्रदेशबाट उत्कृष्ट पालिकातर्फ कोहलबी नगरपालिका बारा, उत्कृष्ट विद्यालयतर्फ जनता मावि गौरीडाँडा, महोत्तरी, उत्कृष्ट प्रधानाध्यापकतर्फ विनोद मेहता, शारदा मावि, सुगौली, पर्सा रहेका छन् ।

बागमती प्रदेशबाट उत्कृष्ट पालिकातर्फ काठमाडौँ महानगरपालिका, उत्कृष्ट विद्यालयतर्फ नारायणी मावि चितवन र उत्कृष्ट प्रधानाध्यापकतर्फ प्रदीप पराजुली, जनक मावि काभ्रेपलाञ्चोकलाई सम्मान गरेको छ । 

गण्डकी प्रदेशबाट उत्कृष्ट पालिका तर्फ मध्यविन्दु नगरपालिका  नवलपरासीपूर्व, उत्कृष्ट विद्यालयतर्फ विन्ध्यवासिनी मावि, कास्की र उत्कृष्ट प्रधानाध्यापकतर्फ  लेखबहादुर हमाल, प्रकाश मावि, बेनी, कास्कीलाई सम्मान गरेको छ ।

लुम्बिनी प्रदेशबाट उत्कृष्ट पालिकामा  ठाकुरबाबा नगरपालिका, बर्दिया, उत्कृष्ट विद्यालयतर्फ कालिका मानवज्ञान मावि, रुपन्देही र उत्कृष्ट प्रधानाध्यापकतर्फ भागवत पौडेल, सेन्टर मावि, तुलसीपुरलाई सम्मान गरिएको छ । 

सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट पालिका धनगढी उपमहानगरपालिका, कैलाली, उत्कृष्ट विद्यालयतर्फ महेन्द्र नमुना मावि दार्चुला र उत्कृष्ट प्रधानाध्यापकतर्फ शुभराज उपाध्याय, मालिका नमुना मावि, बाजुरालाई सम्मान गरिएको छ । 

सम्मेलनमा सहभागी विभिन्न राजनीतिक दलका नेताले विद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक स्तर उकास्न प्रधानाध्यापकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

पानका अध्यक्ष सुदमप्रसाद गौतमले विद्यालय तहको सामुदायिक विद्यालय मात्रै नभएर समग्र विद्यालय शिक्षाको गुणस्तर उकास्ने अभियानमा हातेमालो गर्न प्रधानाध्यापकहरू एकजुट भएर संस्था गठन गरिएको जानकारी दिनुभयो । सम्मेलन तीन दिनसम्म सञ्चालन हुने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्