रुकुम पश्चिमका ६ स्थानीय तहको बेरुजु ३२ करोड

सानीभेरीको सबैभन्दा कम, आठविसकोटको १० करोड ६४ लाख
बुधबार, जेठ २३, २०८१

रुकुम पश्चिमका ६ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । 

महालेखा परीक्षकको कार्यालयको ६१ औं बार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो । आर्थिक वर्ष ०७९/०८० मा गरिएको लेखापरीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । 

प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकाको रहेको छ भने सबैभन्दा बढी आठविसकोट नगरपालिकाको देखिएको छ । सानीभेरी गाउँपालिकाको एक करोड ५२ लाख ४४ हजार रुपियाँ बेरुजु देखिएको छ भने त्रिवेणी गाउँपालिकाको तीन करोड २९ लाख तीन हजार देखिएको छ ।

त्यसैगरी मुसीकोट नगरपालिकाको तीन करोड ५७ लाख ३२ हजार र बाँफिकोट गाउँपालिकाको पाँच करोड १६ लाख ४६ हजार रुपियाँ बेरुजु रहेको छ । चौरजहारी नगरपालिकाको बेरुजु सात करोड ८० लाख ७६ हजार देखिएको छ भने आठविसकोट नगरपालिकाको १० करोड ६४ लाख ९७ हजार रुपियाँ बेरुजु देखिएको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याएको कारोबारलाई महालेखा परीक्षक कार्यालयले बेरुजुका रूपमा परिभाषित गर्छ । 

बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिन्छ । महालेखाले वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र फस्र्योट, हानिनोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरेको छ । नियमित गर्नुपर्ने बेरुजुलाई अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको गरी चार समूहमा वर्गीकरण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्