ज्यामिरकोटको पूर्णिमा मेलामा विविध खेलकुद प्रतियोगिता आयोजना

शनिबार, जेठ ५, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ ज्यामिरकोटमा लाग्दै आएको परम्परागत पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 

मेला आयोजक समितिका अनुसार भलिबल, सटफुट, घैटोफोर, रस्साकस्सी प्रतियोगिताका साथै स्थानीय धामी नाच, मयुर नाच, सिंगारु नाच, विभिन्न रचनाहरु वाचन लगायतका सास्कृतिक प्रस्तुतीका कार्यक्रमहरु मेलामा राखिएका छन् । 

मेला आयोजक समितिका सल्लाहकार समिति सदस्य रमेश मल्लका अनुसार प्रतियोगितामा सहभागिताको लागि जेठ ८ गतेसम्म नाम दर्ता गर्न सकिनेछ भने सोहि दिनको दिउँसो २ बजेबाट प्रतियोगिता सञ्चालन हुनेछ । 

मेला आयोजक समितिका खेलकुद संयोजक किरण मल्लका अनुसार पुरुष भलिबल प्रतियोगिता वडा स्तरिय रुपमा हुनेछ । भलिबल प्रतियोगितामा सहभागि हुनका लागि दर्ता शुल्क तीन हजार तोकिएको छ भने प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदका साथमा प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

खेल संयोजक मल्लका अनुसार सटफुट प्रतियोगितामा प्रथम हुनेलाई एक हजार रुपियाँ पुरस्कार दिईनेछ भने दर्ता शुल्क एक सय राखिएको छ । त्यसैगरी घैटोफोर प्रतियोगितामा सहभागिताको लागि एक सय दर्ता शुल्क राखिएको छ भने पुरस्कार एक हजार राखिएको छ । 

पुरुष र महिला रस्साकस्सीको लागि दर्ता शुल्क पाँच सय राखिएको छ भने पुरस्कार तीन हजार रुपियाँ राखिएको छ । 

मेला आयोजक समितिका अध्यक्ष हिमराज मल्लले मेलाको अवसरमा स्थानीय धामी नाच, मयुर नाच, सिंगारु नाच, विभिन्न रचनाहरु वाचन लगायत कलाकारहरुको प्रस्तुतीसमेत राखिने बताउनुभयो । उहाँले प्रतियोगितामा भाग लिनेहरुले आफ्नो परिचय खुल्ने प्रमाण समेत ल्याउन आग्रह गर्नुभयो । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्