कार्य सम्पादनमा रुकुम उत्कृष्ट बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य रोकाय

सोमबार, वैशाख १७, २०८१

रुकुम पश्चिम । राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकायले कार्यसम्पादनमा रुकुम पश्चिमलाई उत्कृष्ट जिल्ला बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको कार्यालय प्रमुखहरुसँगको छलफल कार्यक्रममा उहाँले उत्कृष्ट र गुणस्तरिय काम गर्नुपर्ने बताउनुभयो । सदस्य रोकायले कानूनी व्यवस्था अनुरुप काम गर्दा बेरुजु नहुने भएकोले त्यतातर्फ ध्यान दिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । 

विभिन्न कार्यालयका प्रमुखहरुले कार्यालयको प्रगतिको विवरण र समस्याहरु राखेपछि राष्ट्रिय सभाका सदस्य रोकायले अवसर र चुनौतीका बिचमा कर्मचारीहरुले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले हालसम्म सन्तोषजनक बित्तिय प्रगती नभएको भन्दै श्रोत सुनिश्चित नभएका योजनाहरुमा आएका समस्या समयमै फुकाउनुपर्ने बताउनुभयो । 

योजनामा दोहोरोपना हुने समस्या र श्रोत सुनिश्चितता नहुने कुरालाई रोक्न अर्थमन्त्रीसँग बसेर छलफल समेत गरेको रोकायले जानकारी गराउनुभयो । संघीय सरकारले तीन करोड भन्दा तलका योजनाहरु सञ्चालन गर्न नहुने गरी सुझाव राखिएको समेत उहाँले जनाउनुभयो । 

राष्ट्रिय सभाको संघीयता सबलिकरण र राष्ट्रिय सरोकार समितिमा समेत आफू रहेकोले जिल्लाका गौरवका आयोजनाहरुमा आउने समस्या समाधानका लागि आफू लागिपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा उहाँले भूकम्प पीडितहरुले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम नै पाएको गुनासो आईरहेकोले गुनासो तत्कालै समाधान गरिनुपर्ने बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्