भारत पढ्न गएका गोपाल दुई वर्षसम्म अज्ञात, परिवारमा सन्नाटा

सोमबार, वैशाख १७, २०८१

रुकुम पश्चिम । दुई वर्षदेखि रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ का चिताराम खड्का र बिरमा खड्काको आँखा ओभानो छैनन् । जिल्ला सदरमुकाममा रहेको खड्का दम्पतीको घर सुनसान छ । उच्च शिक्षा अध्ययनको लागि भारत गएका उहाँको जेठो छोराको अवस्था दुई वर्षदेखि अज्ञात छ । त्यसयता खड्का दम्पतीको शरिरमा घाम लागेको छैन । 

२०७९ वैशाख १६ गते शुक्रबारको दिनदेखि २६ वर्षिय छोरा गोपाल खड्काको अवस्था अज्ञात रहेको छ । छोरा आईपुग्छ कि भन्ने आशाले आमाले बाटो कुरिरहनुभएको छ । ‘परीक्षा सकियो, घर आउँदैछु आमा भनेर फोन गरेको थियो,’ आमा बिरमाले भन्नुभयो,  ‘अब त दुई वर्ष पुग्यो, न छोरा आउँछ, न उसको अवस्था पत्ता लाग्छ ।’

घरको कोठामा सजाईएका गोपालका फोटा, खेलकुद र संगीतका सामाग्रीहरु देख्दा उहाँको मन भक्कानिन्छ, छटपटि हुन्छ । एकदिन त छोरा घर आईपुग्छ भन्ने आशामा बिरमा हुनुहुन्छ ।  

बुवा चितारामले छोरा हराएको दिनलाई कालो दिनको संज्ञा दिनुभयो । छोरा हराएदेखि उहाँको भोक र निद पनि हराएको छ । ‘परिवार आधा बनाएर छोरा हराएको छ,’ चितारामले वेदना पोख्नुभयो, ‘छोरा पढाउन निकालेको ऋण र हराएको सूचनापछि खोजीकार्यको लागि भएको खर्चले घरमा ऋणको भारी थपिएको छ ।’ 

gopal-khadka1-1714351725.jpg
गोपाल खड्का

गोपाल भारतको देहरादुनस्थित अल्पाईन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा स्नातक तह पढिरहेका थिए । बुवा चिताराम खड्काका अनुसार २०७९ वैशाख १६ गते घर आउँने भन्दै उनी कलेजबाट हिडेका थिए । तर हालसम्म उनी न त घरमा पुगेका छन्, न त कलेजमा छन् ।

छोरा हराएको सूचना लगत्तै भारतका विभिन्न स्थानमा आफन्तहरुले खोजी गरेको तर पत्ता नलागेको बुवा चितारामले बताउनुभयो । 

गोपाल र उनका साथीलाई भारतको हरिद्वारस्थित गङ्गा नदिको आसपासमा नेपाली भाषा बोल्ने केहि अन्जान ब्यक्तिहरुले नषालु पदार्थ सेवन गराई बेहोस बनाएर लुटपाट गरेको बताईन्छ । सोहि बेलादेखि गोपाल सम्पर्कबिहिन छन् । परीक्षा सकेर घर फर्कदै गर्दा साथमा भएको सबै सामान लुटिएको खबर पाएको चितारामले उल्लेख गर्नुभयो । 

गोपालसँगै लुटिएका एक विद्यार्थीले हरिद्वारमा लुटिएको र आफू जसोजतो कलेज फर्कन सफल भएको तर गोपाल सम्पर्कमा नरहेको खबर घरमा गरेपछि निरन्तर खोजिकार्य गरिएको थियो ।

आफन्तहरुले विभिन्न समुह बनाएर हरिद्वार, दिल्ली, सिमला लगायतका स्थानमा पटक पटक खोजी गर्दा पनि अवस्था पत्ता लागेको छैन । गोपालको खोजीको लागि नेपाल सरकार मार्फत भारतीय राजदुतावासलाई पत्राचार गरिएको थियो । तर हालसम्म पनि गोपालको अवस्था अज्ञात छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्