पाँच दिनदेखि आठविसकोट १३ को वडा कार्यालयमा तालाबन्दी

वडा कार्यालयको सेवा प्रवाह ठप्प
सोमबार, वैशाख ३, २०८१

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर १३ को कार्यालयमा तालाबन्दी गरिएको छ । गत चैत २८ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

वडामा कार्यरत कार्यालय सहयोगी प्रेम प्रसाद पुन मगरलाई हटाएको बिरोधमा नेकपा एमाले आठविसकोट नगरपालिका १३ को वडा कमिटिले तालाबन्दी गरेको हो ।

लामो समयदेखि वडा कार्यालयमा काम गर्दै आएका कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा बिनाकारण हटाएको भन्दै पुनर्बहाली नभएसम्मको लागि तालाबन्दी गरिएको वडा कमिटी अध्यक्ष आशिराम थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७४ साल मङसिर १९ गतेदेखि करारमा नियुक्त भएर काम गरिरहेका कार्यालय सहयोगी पुनको रोजिरोटी गत चैत १८ गतेदेखि वडा कार्यालयले खोसिदिएपछि तालाबन्दी गर्न बाध्य भएको हो ।

आठविसकोट नगरपालिका वडा नम्वर १३ का पूर्व वडा अध्यक्ष समेत रहनुभएका नेकपा एमाले जिल्ला कमिटि सदस्य बिनोद पुनले पूर्वाग्रहि ढंगले सामान्य कर्मचारीको रोजिरोटी खोस्ने काम भएको बताउनुभयो । उहाँले वडा कार्यालयमा ज्ञापन पत्र बुझाउने, वार्ता गर्ने लगायतका शान्तिपूर्ण कामहरु गर्दा वडा अध्यक्षले अटेरी गरेकोले आक्रोशित स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेको जानकारी दिनुभयो ।
CamScanner-04-15-2024-07.55-1713148543.jpg
आठविसकोट नगरपालिकाको गत चैत १७ गतेको कार्यपालिका बैठकले कार्यालय सहयोगी पुनलाई पदबाट हटाउने निर्णय गरेको बताईन्छ । कार्यालय सहयोगी पुनलाई मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोपमा करार सेवा रद्ध गर्ने निर्णय गरिएको तर पुनलाई स्पष्टिकरण तथा सुनुवाईको मौका नदिई राजनीतिक पूर्वाग्रहको कारण जागिरबाट निकालेको एमालेको भनाई छ ।

वडा कार्यालयमा पाँच दिनदेखि तालाबन्दी भएपछि सेवाग्राहिहरु मर्कामा परेका छन् । सामान्य सिफारिस, जन्मदर्ता, नागरिकता सिफारिस लगायतका सेवाका लागि आउने सेवाग्राहिहरु कार्यालय बन्दभएपछि रित्तै फर्कन बाध्य भएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्