नेभिगेशन
समाज

शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा शिक्षकहरुलाई लक्षित गरेर संचालन गरिएको प्राथमिक उपचार सम्बन्धी तालिम समापन भएको छ ।

सानीभेरी गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमको समन्वयमा सञ्चालित दिगो विकासका लागि स्वास्थ्य अनुकूलन तथा उत्थानशिलता ( सुधार ) परियोजना मार्फत उक्त तालिम संचालन गरिएको हो ।

तीन दिन सम्म संचालन भएको उक्त तालीममा सानीभेरी गाउँपालिका भित्र रहेका १३ वटा माध्यमिक विद्यालयका शिक्षक नायक र सह शिक्षक नायक, नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाबाट गरेर २८ जनाको सहभागिता रहेको थियो ।

गत मसिर ४ गतेबाट सुरु भएको तालिममा घाउ चोटपटक, बेहोसी, झाडापखाला, गला लाग्नु, रक्तश्राव, ज्वरो, विष, पोलाइ, टोकाइ, मांसपेशी, जोर्नी तथा खुट्टाको चोट, हाड भाँचिनु र खुस्किनु, टाउको गर्दन र मेरुदण्डको चोट, लेक लाग्नु, हिउले खानु, लु लाग्नु, पट्टी, घाइते ओसारपसार लगाएतका विषयमा तालिम दिइएको थियो ।

तालिमको सहजीकरण शिवराम खत्री र वसन्त नेपालीले गर्नुभएको थियो । नेपाल रेडक्रस सानीभेरी गाउँपालिकाका अध्यक्ष तुलसीराम बुढाथोकीको अध्यक्षयता रहेको तालिम समापन कार्यक्रममा सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षकद्वय खत्री र नेपाली नेपाल, रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष गोपाल लामिछाने, सुधार परियोजनाका लेखा अधिकृत कनयालाल बास्पय लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका कोषाध्यक्ष लक्ष्मण खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्