प्रभु बैंकमा रकम अपचलन प्रकरण

प्रभु बैंक आठविसकोटमा अपचलन भएको थप एक करोड रुपियाँ पाँच दिन भित्र फिर्ता गर्ने सहमती

दुई करोड ७५ लाख ४२ हजार नौ सय रुपियाँ अपचलन भएकाे पुष्टि
आइतबार, फागुन २०, २०८०

रुकुम पश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले अपचलन गरेको थप एक करोड रुपियाँ पाँच दिनभित्र फिर्ता गर्ने सहमति भएको छ । आईतबार आठविसकोट नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा फागुन २४ गतेभित्र एक करोड दुई लाख ४४ हजार नौ सय रुपियाँ फिर्ता गर्ने सहमति भएको हो । 

आठविसकोट नगरपालिका प्रमुख रबि केसीको संयोजकत्वमा भएको छलफलमा प्रभु बैंक र पीडितहरु बिच अपचलन भएको थप रकम फिर्ता गर्ने र रोक्का भएका खाताहरु  फुकुवा गर्ने सहमति भएको हो । नगर प्रमुख केसीले बैंकमा अपचलन भएको मध्य थप १५ जना सर्वसाधारण नागरिकको एक करोड दुई लाख ४४ हजार नौ सय रुपियाँ फिर्ता गर्ने सहमति भएको जानकारी दिनुभयो ।

यसका साथै रकम हिनामिना प्रकरणको छानबिनका क्रममा प्रभु बैंकका तर्फबाट रोक्का राखिएका सबै खाताहरु आजकै मितिबाट फुकुवा गर्ने निर्णय भएको समेत नगर प्रमुख केसीले बताउनुभयो । नगरपालिकाको रोहबरमा भएको सहमतिमा बैंकको तर्फबाट सिइओ रेनु प्रसाद पाण्डे लगायतले पीडितहरुलाई रकम फिर्ता गर्ने सहमती गर्नुभएको हो । फिर्ता गर्नुपर्नेमा एउटै व्यक्तिको तीस लाख सम्मको रकम रहेको छ । 

यस अघि बैंकको आठविसकोट शाखामा अपरेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाहले रकम अपचलन गरेको पाईएपछि बैंकले एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरिसकेको छ । हालसम्म प्रभु बैंकबाट दुई करोड ७५ लाख ४२ हजार नौ सय रुपियाँ अपचलन भएको पत्ता लागेको हो । यसमध्य भूकम्पपीडितको अस्थायी आवास निर्माण गर्नको लागि आठविसकोट नगरपालिकाले लाभग्राहीको खातामा जम्मा गर्न दिएका एक करोड पाँच लाख र १४ जना ग्राहकहरुको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता भईसकेको छ । 

रकम हिनामिना भएको गुनासोपछि बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिना नेतृत्वको टोलीले आन्तरिक छानबिन गरेको थियो । प्रारम्भिक छानबिन गरेर बैंकले कर्मचारी शाह बिरुद्ध बैङ्किङ कसुर शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा समेत दर्ता गरेको छ । ईन्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, अन्य खातामा स्थान्तरण गर्ने गरेको आरोपसहितको मुद्धा दर्ता भएको हो ।

प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले आरोेपी कर्मचारी शाह फरार रहेको र खोजी कार्य भईरहेको बताउनुभयो । 

430247174_1002493651445629_9142025931764736009_n1709472032.jpg

429786539_1934352903650958_4943475480596021294_n1709472031.jpg

429792432_1369107967103908_2665061071973461773_n1709472030.jpg

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्