चौरजहारीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाईते

थप उपचारको लागि रिफर
बुधबार, फागुन १६, २०८०

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १२ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सानाखोलाका एक शिक्षकले बिद्यार्थी कुटपिट गरेको गुनासो रहेको छ । 

विद्यालयमा कार्यरत शिक्षक खड्क रोकायले कक्षा ३ मा अध्ययनरत छात्र धिरज आचार्यलाई कुटपिट गरेर घाईते बनाएको बताईन्छ । धिरजका बुवा दामोदर आचार्यले मंगलबारका दिन विद्यालयमा पढ्न गएको छोरालाई शिक्षकले कुटपिट गरेको बताउनुभयो । उहाँले शिक्षक रोकायको कुटाईबाट छोराको टाउको, ढाड र छातीमा चोट लागेको बताउनुभयो । 

चोटको कारण रातभर सुत्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले बुधबार बिहानै चौरजहारी अस्पतालमा उपचारको लागि लिईएको जानकारी दिनुभयो । उहाँले चौरजहारी अस्पतालमा सामान्य उपचार गरिएको र थप उपचारको लागि सुर्खेत या नेपालगञ्ज जान अस्पतालले सिफारिस गरेको बताउनुभयो । टाउकोको सिटिस्क्यान गर्नुपर्ने भएकोले बाहिर रिफर गरेको उहाँको भनाई छ । 

आफूलाई खड्क सरले लात्तिले ढाडमा र हातले गालामा हानेको, उचालेर पछारेको र टाउकोमा चोट लागेको कुरा बताएको बुवा दामोदरले उल्लेख गर्नुभयो । अहिले ईलाका प्रहरी कार्यालयमा उजुरी दिन थालेको उहाँको भनाई छ ।

यस बिषयमा जनकल्याण माविका प्रधानाध्यापक झुपलाल शर्माले शिक्षक रोकायले धिरजलाई सामान्य कुटपिट गरेको जनाएको उल्लेख गर्नुभयो । कक्षाका अन्य बिद्यार्थीहरुसँग झगडा गरेको र छात्राहरुले आफूहरुलाई कुटेको भन्दै कुरा लगाएपछि शिक्षक रोकायले अबदेखि यस्तो झगडा गर्नुहुन्न भन्दै सामान्य पिटेको उहाँको भनाई छ ।

विद्यालयबाट घर जाँदा धिरज राम्रैसँग गएको तर अहिले एक्कासी कुटपिटको कारण बिरामी भएको सुनिएको उहाँले बताउनुभयो । यस बिषयमा थप जानकारी लिने प्रधानाध्यापक शर्माको भनाई छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्