बिद्यार्थीलाई दुना, टपरी बनाउन सिकाईदै, परम्परागत सीपलाई पुस्तान्तरण गरिदै

सोमबार, माघ २९, २०८०

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ मा रहेको यमुनानन्द नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरु यतिबेला परम्परागत दुना, टपरी बनाउने सीप सिक्न व्यस्त रहेका छन् । 

विद्यालयले पराम्परागत सीपलाई पुस्तान्तरण गर्न र संस्कारको रुपमा विकास गर्न दुना टपरी बनाउन सिकाउन थालेको हो ।  विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटाले व्यवहारिक रुपमा सीप सिकाउनको लागि पनि दुना टपरी बनाउन थालिएको बताउनुभयो । उहाँका अनुसार अहिले विद्यालयको कक्षा ६ देखि १० सम्मका ५० देखि ६० जना विद्यार्थीहरुले सालको पातको दुना र टपरी बनाउन सिकिरहेका छन् ।

विद्यालयका शिक्षिकाहरु प्रेमकला बाँठा, प्रज्वला पुन, सुशीला शर्मा, कल्पना ओली, ममता चन्द र शिक्षक विवेक शर्माले विद्यार्थीहरुलाई उक्त सीपको लागि सहजिकरण गरिरहनु भएको छ । 

426225416_2700823423405816_7160371297651046583_n (1)1707744284.jpg

सरस्वती पूजालाई प्राथमिकतामा राखेर विद्यार्थीहरुले अहिले दुना टपरी निर्माण गरिरहेका छन् । शिक्षिका प्रेमकला बाँठाले मुसीकोट नगरपालिका –४ बोरागाउँबाट विद्यार्थी र शिक्षक मिलेर सालको पात टिपेर ल्याउने र दुना टपरी बनाउने काम भईरहेको बताउनुभयो ।

उहाँका अनुसार बालबालिकाहरुलाई थप सीप सिकाउन पढाई नभएको बेला, खाजा समयको बेला उक्त सीप सिकाईएको छ । सरस्वती पूजाको अवसरमा विद्यालयमा पुजा विशेष र साँस्कृतिक कार्यक्रम राखिएको र आउने पाहुनालाई प्रसाद दिनको लागि विद्यार्थी बनाएका दुना टपरी नै प्रयोग गर्ने शिक्षिका बाँठाले उल्लेख गर्नुभयो । तीन दिनको अवधिमा एक हजार दुना टपरी निर्माण गरिएको विद्यालयले जनाएको छ । 

यस कार्यले फजुल खर्च नहुने र स्थानीय श्रोत साधनको उपयोग हुने छ । विद्यार्थीहरुमा बचत गर्ने बानीको विकास गर्न र सीप हस्तान्तरण गर्न गर्न पनि यो प्रयोगात्मक कार्य थालनी गरिएको हो । 

426182688_2700823826739109_5639145577234148538_n1707744284.jpg

फोटोहरु सौजन्य : प्रेमकला बाँठा

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्