मुसिकोटमा फागुन १८ गतेदेखि महोत्सव सञ्चालन हुने

बुधबार, माघ २४, २०८०

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहटाकुरामा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म महोत्सव हुने भएको छ । 

रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति, पर्यटन प्रवद्र्धन मञ्चको सह आयोजनामा 'रुकुम पश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव, २०८०' हुने भएको हो । महोत्सव बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेर उद्योग वाणिज्य संघले विगतमा जिल्लाका विभिन्न स्थानहरुमा आयोजना हुने मेला तथा महोत्सव भन्दा यो बेला बिशेष हुने जनाएको छ । 

संघका अध्यक्ष पल बहादुर खड्काले महोत्सवबाट भएको आम्दानीले 'रोजगार बैंक र अक्षय कोष' स्थापना गर्ने उद्धेश्य राखिएको बताउनुभयो । उहाँका अनुसार कृषि, पर्यटन, जडिबुटी, उर्जा, संस्कृतिको प्रदर्शन, प्रवद्र्धन र यी क्षेत्रहरुको सवालमा विषय विज्ञहरुसँग अन्तरक्रिया तथा गोष्ठि समेत गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । 

अध्यक्ष खड्काले कृषि, पर्यटन, उद्योग, व्यापारका क्षेत्रमा काम गर्ने कामदार, कर्मचारीहरुको सेवा सुविधा सुनिश्चितता, बेरोजगार अवस्थाको अध्ययन गरेर स्वरोजगार सिर्जना गर्न रोजगार बैंक स्थापनाको कामलाई अघि सारिएको उल्लेख गर्नुभयो । उहाँले महोत्सवको आम्दानीबाट स्थापित कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृति, उद्योगी तथा व्यवसायीहरुको आपतकालिन अवस्थामा सहयोग लगायतका कार्यमा सहयोग पुग्नेगरी उपयोग गर्ने बताउनुभयो । 

पत्रकार सम्मेलनमा महोत्सव सह आयोजक कला, संस्कृति, पर्यटन प्रवद्र्धन केन्द्रका डिल्ली परियारले स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित विभिन्न स्थानीय झाँकिहरु समेत प्रस्तुत गरिने बताउनुभयो ।

उहाँले जिल्लामा उत्पादित सामाग्रीहरुको बजार, रमाईलो मेला सहित बाल उद्यान, खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत महोत्सवका अवसरमा राखिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्