मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्रहरीलाई 'योग ध्यान'

सोमबार, माघ २२, २०८०

रुकुम पूर्व । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुलाई लक्षित गरेर मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि योग ध्यान  कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा प्रहरीहरुका लागि उक्त कार्यक्रम संचालन गरिएको हो । मनमा भएका डर त्रास तथा पीडाले मानसिक समस्या हुने भएकोले त्यस प्रकारकार दुखका भावहरुबाट मुक्तभइ आनन्दमयी जीवन व्यतीत गर्नको लागि योगलाई पीडाबाट मुक्त हुने आधारका रुपमा लिईन्छ । यहि कुरालाई मनन् गर्दै योग तथा ध्यान कार्यक्रम गर्न थालिएको हो । 

आईतबार प्रहरीहरुका लागि संचालित कार्यक्रममा मानसिक स्वास्थ्य समस्याका बारेमा छलफल समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आत्महत्या, आत्महत्या जोखिम तथा खतराका सुचकहरुका बारेमा जानकारी कार्यक्रममा गराउनुभएको थियो ।  उहाँले आत्महत्या रोकथामका उपायहरुका बारेमा पनि बताउनुभएको थियो। 

पछिल्लो समय प्याकिङ खानातर्फ मानिसहरु आकर्षित हुदै गएको र त्यसले शरीर व्यवस्थापनमा समस्या हुनाले थप समस्या भएर मानसिक स्वास्थ्य समस्याहरु देखा पर्ने  र त्यसको समाधानका लागि योगा तथा ध्यान आवश्यक रहेको उहाँको भनाइ छ । 

49ca52a1-8bef-4500-bb51-c8d0464729d01707143207.jpeg

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले आत्महत्या रोकथाममा  नेपाल प्रहरीको भुमिकाका बारेमा चर्चा गर्नुभएको थियो। नागरिकको समस्याको बारेमा सबैभन्दा पहिलो जानकार प्रहरी हुनेभएको हुदा आत्महत्या रोकथाममा पनि प्रहरीको महत्त्वपूर्ण भुमिका रहने कुरा डिएसपी श्रेष्ठले प्रकाश पार्नुभयो । यसका साथै जिल्लामा पछिल्ला केहि वर्ष यतादेखी जिल्लामा आत्महत्याको अवस्था बारेमा उहाँले जानकारी गराउनुभएको थियो । 

आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख बिष्णुहरि आचार्यले पछिल्लो समय बढिरहेको मानसिक स्वास्थ्य समस्या व्यवस्थापनका लागि योग तथा ध्यान महत्वपूर्ण रहेको हुँदा योग तथा ध्यानमार्फत मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिबृद्धि गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठ लगाएत प्रहरी कर्मचारीहरु पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

d7f7af79-e709-47c3-b1f5-3ec6b86dc0841707143206.jpeg

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्