पापिनी मेला

‘पापिनी मेला’ धूमधाम, केटी-केटी बिचको विवाह सम्पन्न (भिडियोसहित)

साँखमा परम्परा चलाउने कन्यालाई ‘पापिनी’ किन भनियो ? यो प्रश्न अनुत्तरित
मंगलबार, माघ १६, २०८०

रुकुम पश्चिम । परम्परागत रुपमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका –७ को साँख लाग्ने ‘पापिनी मेला’ यस वर्ष धुमधाम र व्यवस्थित रुपमा लागेको छ । मेलामा हुने साँस्कृतिक र खेलकुद कार्यक्रमसँगै प्रमुख आकर्षणको रुपमा किशोरी किशोरी बिचमा हुने नम्कली बिहेलाई लिईन्छ । 

गाउँको बीचमा रहेको सुन्दर साँख दहले माथिगाउँ र तलिगाउँ छुट्याएको छ । यस वर्ष माथिगाउँले तलिगाउँसँग दुलही माग्यो र विहेवारी भयो । अघिल्लो वर्ष तलिगाउँले माथिगाउँबाट दुलही लिएको थियो ।

रीत अनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधाम भोजभतेर गर्ने र मेला भर्नेकाम तीन दिनसम्म धुमधामका साथ हुन्छ, साँख गाउँमा । यसरी नै चलिआएको छ परम्परागत ‘पापिनी मेला’ । 

यहाँ हरेक वर्षको माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने चलन रहेको छ ।

photo2 _page-00011706601439.jpg
बिहेको लागि तयार गरिएका दुहाला दुलही

‘पापिनी मेला’ अन्तर्गतको नक्कली बिहेका बेहुला बेहुली दुवै किशोरी हुन् । किशोरीलाई नै बेहुला र बेहुलीका रुपमा श्रृङगारेर चलिआएको रीत अनुसार बिहे सम्पन्न गरिन्छ । वडाध्यक्ष एक्कबहादुर पाण्डेले तीन दिन लगाएर सम्पूर्ण विधि–प्रक्रिया अनुसार धुमधामले गरिने विहे भने ‘नक्कली’ भएको बताउनुभयो ।

विहेमा बेहुला र बेहुली पनि नक्कली नै हुन्छन् । दुवै गाउँका केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ । दुबै पक्षका अभिभावक, बिहे गर्ने र गराउने जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित कन्या मात्र हुन्छन् । यीनै कन्यालाई ‘पापिनी’को संज्ञा दिईएको हुन्छ । 

परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको वडा अध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो । ‘पापीनी’ हुनका लागि जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने गरेर तीन वटा योग्यता तोकिएको हुन्छ । वडा अध्यक्ष पाण्डेले भन्नुभयो, ‘गाउँको चालचलन धान्ने कन्या ‘पापिनी’ हुनुपरेको छ ।’ पूखौंदेखि चलिआएको यो चलनको भरथेग गर्ने कन्यालाई ‘पापिनी’ किन भनियो भन्ने प्रश्न अनुत्तरित छ ।  

photo 3_page-00011706601320.jpg
दुलहि लिन हिँडेका ‘पापिनी’हरु

यो संस्कार रहर वा बाध्यताभन्दा पनि परम्परा भएको स्थानीय अगुवा लालबहादुर महतले बताउनुभयो । साँखमा मानवबस्ती सुरुभएदेखि नै साँखदहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । महतका अनुसार हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास छ । हरेक वर्ष साँखका दुई गाउँले पापीनी तयार गर्छन् र परम्परा चलाउँछन् । 

उक्त मेलालाई संरक्षण तथा प्रवद्र्धन गर्ने हेतुले यसपटक हाम्रो सरोकार समाजले आयोजकको भूमिका निर्वाह गरेको छ । मेलामा विभिन्न साँस्कृतिक र खेलकुदका कार्यक्रमहरु राखिएको छ । 

हेर्नुहोस् भिडियो ...

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्