चुन्वाङकाे एउटा बेग्लै विद्यालय !

आइतबार, माघ १४, २०८०
  • तिलक गौतम

गत पुस १९ गते सहकर्मी महेश चन्द र शिक्षक हरिबहादुर थापालाई लिएर म चुन्वाङ हिँडें। रुकुम पूर्व जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ मा पर्ने चुन्वाङ तत्कालीन अवस्थामा एउटा छुट्टै गाविसको रुपमा रहेको र सदरमुकामबाट अलि टाढा छुट्टै भौगोलिक अवस्थितिमा विकट क्षेत्रको रुपमा रहेको छ।

भर्खरै ट्रयाक खोलेको बाटोबाट पहरा, भिर र भञ्ज्याङ कटेर जानुपर्ने भएकोले होर्दिङ र नौवहिनीको लेकतिरबाट चुन्वाङ आवागमन त्यति सजिलो छैन। करिब २ घण्टाको हैरानीपूर्ण र जोखिमयुक्त बाइक यात्रापछि बाटैमा पर्ने लाखर खोलास्थित आधारभूत विद्यालय दुवाचौरमा पुगियो। त्यहाँका प्रअले गेट खोल्दा पौने १२ बजेको हुँदो हो। लुगाको धुलो टकटक्याउँदै हामी विद्यालय प्रवेश गर्यौं।

स-साना होचा ४ वटा घर। ३ वटा ढुङ्गाले छाएका र एउटा जस्तावाला परियोजना भवन। घर पूराना भए पनि पोतपात गरिएका, सफा र चिटिक्क छन्। भवनको अलाइनमेन्ट एउटै रेखा वा सर्कलमा छैन। पहाडी भिरालो जमिनमा काल्ना तलमाथि भौगोलिक स्वरुप मिल्दो गरी ती निर्माण गरिएका छन्।

चौरमा केही विद्यार्थी परीक्षा दिंदैछन्। परीक्षाभन्दा पनि दुई दिन पछिबाट सुरु हुने टर्मिनल परीक्षाको तयारीका लागि गरिएको एक प्रकारको अभ्यास रहेछ त्यो। चौरमा कहींकतै कागजका टुक्रा, प्लास्टिक वा अन्य केही फोहोर छैन। नवनिर्मित गेट र तारजालीको घेरावार सहित सफा चौर आफैंमा चिटिक्क छ।

भित्र कक्षाकोठामा पठनपाठन चलिरहेको छ। स-साना कोठा सफा र चिटिक्क छन्। भित्तैभरि शैक्षिक सामग्री टाँसिएका वा झुण्डाइएका छन्। साइडमा किताबहरू चाँचिएका देखिन्छन्। शिक्षकहरू सबै ड्रेसमा छन् र विद्यार्थीहरूको टोपी समेत एउटै छ। जाडो मौसम भएर होला प्रत्येक विद्यार्थीले एउटै जात र रङको ट्रयाकशुट र उनको टोपी लगाएका छन्।

कोठामा पस्नेवित्तिकै विद्यार्थीहरू 'गुड आफ्टरनून सर' भन्दै कलात्मक रुपमा कराए। मैले पनि गुड आफ्टरनु"न भनें। तर विद्यार्थी बसेनन्। खडा रुपमा उभिइरहे। खासमा 'बस' भनेपछि मात्रै तिनीहरू 'थ्याङ्क्यू सर' भन्दै बस्दा रहेछन्। विद्यार्थीको यो अनुशासन पद्धतिमा कुनै बनावटीपन छैन। यो पद्धति स्वस्फूर्त रुपमा विद्यार्थी माझ चलिरहेको छ।

प्रत्येक कोठा बाहिर जुत्ता राख्ने र्‍याक देखिए। र्‍याकभरि जुत्ता चप्पल मिलाएर राखिएका छन्। शिक्षक होस् वा विद्यार्थी, जुत्ता खोलेर मात्रै भित्र पस्ने संहिता अब संस्कार बनिसकेछ।

कक्षा हेर्दै गर्दा बीचमा भान्साकोठा रहेछ। भान्साकोठा घरकै जस्तो चिटिक्क पारिएको छ। पोतेर सफा र स्वच्छ देखिने। दाउरा र अरु सामान मिलाएर राखिएको छ। थाल, बटुका, चम्चा, पकाउने भाँडाकुडा सबै सफा गरी मिलाइएका छन्। हरिया तरकारी, साग, धनिया, प्याज र आलु आफ्नै करेसावारीबाट ल्याइएका रे।

एउटा कुकुरमा दाल पाकेको छ। एउटा भाँडामा चामल भिजाइएको छ। भान्सामा काम गर्ने एकजना महिला एउटा कुकरमा हरियो तरकारी भुट्दैछिन्। सबै मिलाएर खिचडी पकाउने आजको मेनु रहेछ। पकाई हेर्दा खाउँ खाउँ लाग्ने। स्वादिलो, पोषिलो र सफा खाजा, एक प्रकारले मुखै रसायो।

धाराहरू सबै बालमैत्री रहेछन्। पछिल्लो गेट बाहिर पनि धारा बनाइएको छ, त्यो धारा गाउँलेहरूले समेत प्रयोग गर्दा रहेछन्। शौचालय त्यस्तै सफा र सुग्घर।

बीच भागमा एउटा प्रतीक्षालय छ, स्थानीय स्रोतसाधनबाट अभिभावकको सहजताका लागि बनाइएको। प्रतिक्षालय सफा र फराकिलो छ। अलि पर कुनामा अफिस कोठा नजिकै चिप्लेटी लगायत बाह्य खेल सामग्री छन्। तिनका कारण पनि विद्यालय प्राङ्गण अझ सुन्दर देखियो।

प्रअसँगै हामी कार्यालय कक्षमा छिर्यौं। प्रत्येक शिक्षकका लागि छुट्टाछुट्टै टेबल-कुर्सी छन्। सहयोगीका लागि पनि छ। कक्ष भित्र थुप्रै आवश्यकीय सामग्री छन् र तिनलाई व्यवस्थित रुपमा मिलाइएको छ। हरेक चिज व्यवस्थित र आकर्षक देखिन्छन्। भित्ताभरि विभिन्न ग्राफ, चार्ट र सूचनामूलक सामग्री सजिएका छन्।

कक्षा १ लाई ध्यानमा राखी बाल विकास कक्षा दुई वर्षे बनाइएको रहेछ। दुई वटै समूहमा विद्यार्थी धेरै छन्। कक्षा ५ सम्मको विद्यालयमा एक राहतसहित चार शिक्षक दरबन्दी, एक बालविकास अनुदान, एक गाउँपालिका अनुदान, एक सहयोगी र एक भान्सेको कोटा रहेछन्। प्रत्येक शिक्षक कर्मचारी आफ्नो काममा दत्तचित्त भै लागि रहेका।

बच्चाहरूको सिकाइ उपलब्धि पनि प्रभावकारी देखियो। तल हाईस्कुल भएको गैरीगाउँ बजार क्षेत्रबाट समेत केही विद्यार्थी आउँदा रहेछन्। कक्षा कोठामा मनिटर व्यवस्था पनि देखियो।

विद्यालय कम्पाउण्डसँगैको करिब एक रोपनी जग्गा भाडामा लिइएको रहेछ। बारीभरि मौसमी तरकारी छ। शिक्षक विद्यार्थी आफैंले काम गरी करेसाबारी हराभरा बनाएका छन्।

दिवा खाजामा अधिकांश समय बारीको उत्पादन प्रयोग हुँदो रहेछ। भूमे गाउँपालिकाले त्यहाँभित्रका सबै विद्यालयलाई मारिङ नामक सहकारीबाट खाजाको सामग्री लैजाने व्यवस्था गरेको छ, तर यो विद्यालयले करेसाबारीको बलमा धेरै सामग्री आफैं व्यवस्थापन गर्दो रहेछ।

कार्यालयमा यसो हेरफेर गर्दैगर्दा करिब हाफ टाइमको बेला भयो। शिक्षकहरू कक्षामै थिए। प्रअले आफैं सबैलाई बोलाए। सहयोगी पनि पढाउँदा रहेछन्। केहीबेर अन्तरक्रिया भयो। शिक्षकहरू सबैमा उत्साह र आत्मसन्तुष्टि देखिन्थ्यो। आपसमा सामूहिक भावना पनि उत्तिकै रहेछ।

विद्यालय समुदाय सम्बन्ध कस्तो होला? मलाई जिज्ञासा लाग्यो। यो विषय पनि प्रअले प्रस्ट्याइहाले। करेसाबारीका लागि प्रत्येक घरले वर्षमा दुई पटक एक डोका मल ल्याइदिँदा रहेछन्। र, खाजा पकाउन प्रतिघर १ भारी दाउरा स्वस्फूर्त रुपमा आउँदो रहेछ। यति भएपछि विद्यालय समुदाय सम्बन्ध बारे थप कोट्याइरहनु परेन। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरूसँग भने भेटघाट/ छलफल हुन पाएन, भेट भएको भए सायद केही नयाँ कुरो थपिन्थ्यो कि?

'विद्यालयमा यति विघ्न काम हुँदो रहेछ, समय कसरी मिलाउनु हुन्छ?' महेशजीले प्रश्न गरे। उनको प्रश्न खस्न नपाउँदै प्रअले वेली विस्तार सुरु गरे।

अफिस भित्रका कामका लागि उनी आवश्यकता बमोजिम बिहान ४ बजे अफिस आउँदा रहेछन्। ६ बजेसम्ममा काम तमाम। करेसाबारीमा भने शिक्षकहरू सबै खट्दा रहेछन्। ऐन मौकामा भने अलि ठूला विद्यार्थीहरूलाई पनि प्रयोग गरिंदो रहेछ। विद्यालयप्रतिको प्रअको मोह र लगाव अतुलनीय र अनुकरणीय देखियो।

School-17062650541706427569.jpg

विद्यालयका थुप्रै समस्या पनि होलान्। कतिपय समस्या हामी आफैंले देख्न पायौं। भवनहरू पूराना छन्, कक्षा कोठाहरू साँघुरा छन्। खेलमैदान सानो छ। आफ्नै करेसाबारी छैन। शिक्षक सङ्ख्या प्रयाप्त छैन। आवश्यकीय बजेटको प्रबन्ध छैन। तर यी समस्याहरूमा बहाना देखाउने प्रयत्न शिक्षकहरूले गरेनन्। शिक्षकहरूको मेहनत र लगाव अनि समुदायको विश्वास र सार्थक आडका कारण विद्यालय जीवन्त र गतिशील देखियो।

मैले महावीर पुनको आत्मकथा 'महावीर पुन: सम्झना, सपना र अविरल यात्रा' सँगै लिएर गएको थिएँ। त्यही पुस्तक विद्यालयलाई सप्रेम भेट गरें। प्रअ मानबहादुर विष्ट र अन्य सबै टिमले कृतज्ञता व्यक्त गरे। उनीहरूको आथित्यताभाव पनि निश्वार्थ र स्वच्छ लाग्यो। मह र कागती हालेको रसिलो पानी पिउँदै मैले विद्यालयको थप विकास र प्रभावकारिताका लागि जाने बुझेका सुझावहरू प्रस्तुत गरें। साथीहरूले पनि थपथाप गरे।

सामुदायिक विद्यालयहरूको समग्र स्थिति खस्किरहेको भनिएको यो अवस्थामा आवि दुवाचौरको साक्षात्कारले मन प्रफुल्लित मात्रै भएन, एउटा जीवन्त विद्यालयमा पाइला टेकेको सुखानुभूति पनि भयो।

'गरे नहुने के छ र?' मैले साथीहरूलाई इसारा गरें। हामीलाई अन्यत्र जान ढिला भैसकेको थियो। सम्झनाका लागि २/४ वटा फोटो खिचिवरी हामी गैरीगाउँका लागि रमाना भयौं, यो एउटा बेग्लैखालको विद्यालयले मथिङ्गल भने हल्लाइरहेको थियो। - सेताेपाटीबाट

(लेखक, शिक्षा विकास तथा समन्वय इकाइ, रुकुम पूर्वका प्रमुख हुनुहुन्छ।)

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्