आँखामा उनैको तस्बिर हुन्थ्यो । मुटुमा उनैको बास हुन्थ्यो । अहिले पनि मुटुमा छिन् । एकाग्र श्रवण गरे था लाग्छ, प्रत्यक धडकनले उनैको नाम पुकार्छ ।
आँखा चिम्लेर मैले फेर्ने श्वास हेर्नुस,हरेक अँजुली हावा संग उनी नै भित्र बाहिर गर्छिन । मेरो माया नदि जस्तो थियो,उनलाई भेट्न सधैँ उनितिरै बगिरहने । पागल आँखाहरु यस्ता थिए,मलाई यतैकतै छोडेर कता कता पुग्थे उनलाई खोज्न ? रेडियोमा बज्ने हरेक गीत मेरो कानले उनैका लागि सुन्थ्यो ।
फुललाई दिन्छे सुबास उ, सागरलाई मोति दिन्छे
हावालाई दिन्छे चन्चलता,जुनलाई ज्योती दिन्छे ...
बगैँचामा फुलेको गुलाबमा उसैको चित्र देख्थेँ,पहाडमा फुलेको गुराँसमा उसैको तस्बिर देख्थेँ । नाक सम्म कुनै सुगन्धको महक पुग्यो भने लाग्थ्यो यो पनि उ नै हो । हावाको सिरेटोले छुदा पनि उसैले चिमोटे जस्तो लाग्थ्यो ।
कोहि मनमा बसे पछि,कोहि मन परे पछि यस्तै त हुँदो रहेछ । फुलमा उ,पातमा उ,खडेरिमा उ,बर्षातमा उ । मलाई त यस्तो थियो,तर उसलाइ कस्तो थियो ? मलाई के था उसको मनमा कोहि थियो कि मन खाली थियो भनेर ?
न मैले कहिले उसलाई भनेको थिएँ कि म तिमि मात्रै देख्न जन्मिएको हुँ भनेर । न मैले कहिल्यै उनलाई भनेको थिएँ कि - "म तिम्रो अभावमा जिउँदो त हुन्छु तर बाँचिरहेको हुँदिन भनेर ।"
भन्छन् पृथ्बी गोलो छ, र घुम्छ । यो तथ्य प्रमाणित हुन मेरो अगाडि टुप्लुक्क हाजिर भो । मैले चिठिको जहाज चढाएर मेरो प्रेमको भावना उनीसम्म पुर्याएँ। उनको मनको एरपोर्टमा, जब मेरो चिठी ल्याण्ड भो, उनको मनमा रारा बनेको प्रेमको बाँध फुटेछ र पोखियो झरना बनेर ,मानौँ त्यो एन्जल फल्स हो ।
प्रेमको बर्षातले रुझाउँदा जिन्दगी न्यानो लाग्दो रहेछ । अनुभूति अद्वितिय हुँदा रहेछन । उनी हिरोइन,म हिरो । "हामी अमर प्रेम कहानिका चर्चित पात्रहरु ।" यस्तै अनुभिती गर्यौँ ।
उमेर सानै थियो । तर ठुलै मायाजालमा परियो । डेटिङको एकदिन स्कुले दिनहरुलाई सम्झिन लुकामारी खेल्न थाल्यौँ । लुक्ने मेरो पालो थियो । उनको आँखामा उनकै दोपट्टा बाधिदिएँ । आफू चाहिँ लुक्न रुख चढेँ,खनायोको रुख घमाइलो थियो ।
उनीले सजिलै देख्दिनन् भन्ने कन्फम गरेर म उनको चर्तिकला नियाल्न थालेँ । उनीले दोपट्टा खोलेर यता उता हेरिन । खोज्न छाडेर थचक्क भुइमा बसिन । म उनको यो तरिका देखेर अचिम्मित हुन लागेको थिएँ , त्यहाँ भन्दा ठूलो अचम्म देखेँ - उनी ठुलो स्वरले कराउँदै भन्न थालिन - " तिमी लुक्न गएर के हुन्छ ? तिमी लुकेको ठाउँ मलाई थाहा छ ।
म डराएँ । सायद मलाई देखिसकेको होला, त्यै भएर नखोजेर थचक्क बसेकी छ ।" सोच्नै लागेको थिएँ सोच्ने फुर्सत मिलेन । उनि फेरि बोलिन - " तिमी लुक्ने ठाउँ अन्त कहाँ छ ?। तिमी त मेरो मुटुमा लुकेको छौ ।
मुटुको सबैभन्दा भित्र ,तिम्रा लागि मैले मायाको धातुबाट बनेको सिंहासन राखेको छु, तिमी त्यही सिंहासनमा बिराजमान छौ । म चाहान्न,मेरो राजालाई कसैले देखोस र कालो नजर लगाओस । शान्त र सुरक्षित गरि मैले यहि लुकाएको छु । म बाहिर खोज्दिन तिमिलाई । अहँ खोज्दै , खोज्दिन ।"
अनायसै मेरा त आँखा रसाय । उनको पबित्रताले, बिश्वासले, प्रगाढ प्रेमले आँखा टिलपिलाय । गला पनि उकालो चढ्दा थाकेका वृद्ध बाको यात्रा जस्तो भो । आँखाबाट झरेको आँसुलाई सोधे-" किन झरिस ? " उसले आफू " खुशिले झरेको र हेर त उसको माया कति चोखो छ ? तँ पनि रुखबाट भुइमा झर" भनेको जस्तो लाग्यो ।
हतारमा झरेँ र उनलाई गम्लङ्ग अंगालो हालेँ । उनले खुशी भएर भनिन - "देख्यौ मेरो मायामा कति तागत छ ? मैले नखोजेरै तिमिलाई भेटाइदिएँ ।" मैले टाउको हल्लाएँ,भगवान संग प्रार्थना गरेँ - "भगवान,हामीलाई नछुटाउ है ।" सेकेन्ड भन्दा मिनेट ढिलो,मिनेट भन्दा घण्टा ढिलो ।
ढिलो चाँडो जे भए पनि घडिका सुई सँधै एकैठाउँमा अडिइरहन त सम्भव छैन । उ को हो भनेर कसैले सोधे - म उसलाई घडिको सुइ हो भन्छु । त्यो पनि सेकेन्ड वाला सुइ । मायाको मिनेट नपुग्दै ।
भन्नै नसकिने मौन कारण देखाउदै,हतार हतार छुट्टिएकि उसलाई के उपमा दिउँ? एकाएक उसको प्रेमवाला राराताल रित्तो भो । खोइ कुन चाहिँ मन्जुश्रीले तरबार हान्यो ? उसको मनबाट मेरो माया पुरै सुकाइदियो । हुन त उ यहि धर्तिमा छे,म पनि परलोक पुगेको छैन ।
हरेक दिन फेसबुकमा नयाँ नयाँ फोटो हाल्छे । उसको हालखबर लिन उहिले चिठी बोकिदिने त्यो साथी आवश्यक छैन । उ संग बोल्नु पनि पर्दैन । सबै त्यही फेसबुकबाट हेर्छु । श्रीमतीलाई छलेर उसलाई सर्च गर्छु । हेर्छु । अनि सर्च लिस्ट डिलिट गर्छु ।
एकदिन, उसको बर्थ डे रहेछ, मैले मेसेन्जरमा हेप्पि बर्थडे लेखेँ । उसले थ्यान्क यु लेखी । लामो कुरा भो ।कुराको रकेट चढेर स्वर्गीय भइसकेका पुराना दिनहरुमा पुग्यौँ ।
मैले सोधे -"कुरा गर्न झ्याउ त लागेन ?"
उनले " छैन "भनिन ।
मैले सोधे-" किन छाडेउ ?
"उनले "सरि" भनिन् ।
मैले "मलाई त बिर्स्यौ है" भने, उनले भनिन-" छैन,आफ्नै मुटु कसैले बिर्सिन्छ र ?"
मैले भने- एउटै मुटुमा दुइटा कसरी अटाएकी छ्यौ? "होइन तिमी मात्र छौ ।" मैले अलि नपत्याएर सोधेँ "त्यसो भए उहाँ काँ हुनुहुन्छ त ? "उहाँ त जीवनमा हुनुहुन्छ । मुटुमा त तिमी मात्र छौ ।"
कुरामा उसलाई जित्न सकिन । जित्ने चाहाना पनि राखिन । हुन त मैले कहिले के मा पो उसलाई जिँते र ? जितेको भए त उ मेरै हुन्थी ।
प्रसंग फेरेर भनेँ - "ठिक छ,फेसबुकमा एड हौँ, बोल्न सजिलो हुन्छ।" उसले फेसबुकमा मिल्दैन भनी । मैले पनि कर गरिन । खोइ कताबाट आयो ? मनमा छाल पो आयो । प्रश्नको छाल । "मुटुमा राख्न मिल्ने मान्छेलाई फेसबुकमा राख्न मिल्दैन र ?"