रुकुम पश्चिमको त्रिवेणीमा ६४ अस्थायी आवास निर्माणका लागि रकम निकासा

मंगलबार, मंसिर १२, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि रकम निकासा भएकाे छ । 

मंगलबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रकम पठाउने निर्णय गरेपछि रकम निकासा गरेर पठाइएकाे हाे । त्रिवेणी गाउँपालिकाबाट अस्थायी आवास निर्माणको लागि विवरण संकलन र एकिन भई गाउँपालिकाबाट निर्णय भई आएकोले उक्त रकम पठाइएकाे हो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको जानकारी दिनुभयो । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाइएकाे हो । 

जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने निर्णय गरेको थियाे । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० (दोस्रो शंसोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको हो ।  सोहि निर्णय अनुसार रकम पठाईएको प्रशासन कार्यालयले जनाएको छ । 

प्रजिअ पन्तका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने २५ हजार रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइएकाे छ । अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उहाँको भनाइ छ । 

भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ । त्रिवेणी गाउँपालिका बाहेक अन्य पालिकाबाट कुन कुन घर परिवारले रकम पाउने भन्ने विवरण नआइसकेकाले ती पालिकाका लागि रकम निकासा भने हुन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्