भूकम्प प्रभावितहरुलाई भवन निर्माणका सामाग्रीहरु निशुल्क उपलब्ध गराउन रास्वपाको माग

रास्वपा रुकुमद्वारा सरकारको ध्यानाकर्षण
आइतबार, मंसिर ३, २०८०

रुकुम पश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निमाणको लागि आवश्यक पर्ने सामाग्रीहरु एक पटकको लागि निशुल्क उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ । 

आईतबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत नेपाल सरकारलाई ६ बुदे ध्यानाकर्षण पत्र बुझाउँदै रास्वपाले यस्तो माग राखेको हो । रास्वपा रुकुम पश्चिमले अब निर्माण हुने घरहरु भूकम्प प्रतिरोधी तथा भवन निर्माण सम्बन्धी आचारसंहिता अनुसार बनाउनुपर्ने, भूकम्प प्रभावितहरुको घर पुनर्निमाणको लागि आवश्यक पर्ने ढुंगा, बालुवा, गिठ्ठी, काठ एक पटकको लागि निशुल्क उपलब्ध गराउन माग गरेको छ । 

पार्टीका उप संयोजक भोला प्रसाद केसीले भूकम्प पीडितहरुलाई त्रिपालमा मात्र लामो समय सम्म राख्न नमिल्ने अवस्था भएकोले तत्काल सुरक्षित आवास निर्माणमा ध्यान दिन आग्रह गरिएको बताउनुभयो । यसका साथै भवन निर्माण चाहिने सामाग्रीहरु बजारमा अभाव हुने र महंगी हुने भएकोले निरन्तर बजार अनुगमन गर्न माग गरिएको छ । 

रास्वपाले बिद्यालयका भौतिक संरचनाहरु क्षतिग्रष्त भएकोले अस्थायी सिकाई केन्द्र बनाएर बालबालिकाको पठनपाठनमा सहज बनाउन माग गरेको छ भने भूकम्प प्रभावित कुन क्षेत्रमा कस्तो सहयोग आवश्यक रहेको छ त्यसको लागि एकिकृत सूचना प्रणाली स्थापना गर्न माग गरेको छ । 

यसैगरी बस्तीहरुलाई बिभिन्न कलष्टरमा विभाजन गरेर पुनर्निमाणको संयन्त्र प्रभावकारी बनाउन माग गरिएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्