कात्तिक ३० गते देखि बेलटापु मेला लाग्दै, खेलकुदका विभिन्न कार्यक्रम हुने

बुधबार, कात्तिक १५, २०८०

रुकुम पश्चिम । जिल्लाको चर्चित बेलटापु मेला यस पटक कार्तिक ३० गतेदेखि लाग्ने भएको छ । सानीभेरी गाउँपालिका -३ बेलटापुमा लाग्दै आएको परम्परागत मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । 

बेल्टापु मेला व्यवस्थापन समितिको आयोजनामा अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको हो ।  मेला कार्तिक ३० गते देखि मंसिर ४ गतेसम्म लाग्ने बताईएको छ ।

आयोजक समितिका अनुसार महिला पुरुष खुला भलिबल, खुला ब्याडमिन्टन, फुटबल र स्लो बाइक रेस प्रतियोगिता मेलाको अवसरमा आयोजना गरिएको छ ।

बेलटापु मेला व्यवस्थापन समितिका अध्यक्ष सुशील खड्काका अनुसार भलिबल अन्तर्गत पुरुष तर्फको विजेताले नगद १ लाख २५ हजार, उपविजेताले नगद ७५ हजार र सान्त्वना हुने दुई टिमले ३०–३० हजार पुरस्कार पाउने छन् । महिला तर्फको विजेताले नगद ६० हजार, उपविजेताले नगद ४० हजार र सान्त्वना हुने दुई टिमलाई १५–१५ प्रदान गरिने अध्यक्ष खड्काले उल्लेख गर्नुभयो । 

त्यसैगरी फुटबलको विजेताले २० हजार, उपविजेताले १५ हजार र सान्त्वना हुने दुई टिमले समान २–२ हजार पुरस्कार पाउनेछन् । स्लो बाइक रेस प्रतियोगिताको प्रथम पुरस्कार १० हजार, दोस्रो पुरस्कार ७ हजार र तेस्रो पुरस्कार ४ हजार तथा दर्ता शुल्क १ हजार राखिएको छ ।

सबै पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक बेल्टापु मेला व्यवस्थापन समितिका सचिव विनोद केसीले जानकारी गराउनुभयो ।

खेल शुद्ध वडा स्तरीय हुने उहाँको भनाई छ । सबै खेलमा सहभागिताका लागि कार्तिक ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गराउने सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्