आधुनिक सहर बन्दै चौरजहारी, ५० प्रतिशत काम सम्पन्न

२० वर्षे सहर निर्माणको योजना अन्तर्गत काम थालेको १२ वर्ष पुग्यो
शनिबार, भदौ ३०, २०८०

रुकुम पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण हुन थालेपछि सो सहरको रूप फेरिने भएको छ ।

पहाडबाट तराईमा हुने बसाइसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ सालबाट चौरजहारीलाई नयाँ सहरको रूपमा निर्माण गर्न सुरु गरिएको हो । आयोजनाको काम सुरु भएको पाँच वर्षसम्म खासै उपलब्धि हुन सकेन । योजना छनोट, बजेट निर्माणलगायतका काममा अल्झिएको आयोजना पछिल्ला वर्ष उपलब्धि गर्न थालेको छ । 

२०७२ सालमा चौरजहारी नयाँ सहरको कार्यालय स्थापना गरेर काम सुरु भएको थियो । नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदै गएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको छ । साँच्चिकै नयाँ सहरको रूपमा चौरजहारी बजारको विकास हुँदैगएको स्थानीयहरूको भनाइ छ । 

बजार क्षेत्रमा कालोपत्रे सहितको सडक, बसपार्क निर्माण, सौर्य बत्ती, एकीकृत तथा सामुदायिक भवन निर्माणको कामले थप सौन्दर्य बढाएको छ । आयोजनाले निर्माण गरेको एकीकृत सेवा केन्द्रबाट चौरजहारी नगरपालिकाको प्रशासनिक काम सञ्चालन भइरहेको छ । 

यसैगरी नगरपालिकाको वडा १, २ र ४ को डेढ तले भवन निर्माण गरिएको छ । सो भवनबाट वडा कार्यालयको काम सञ्चालन हुनेछ भने चार वटा सामुदायिक भवन निर्माणकै क्रममा छन् ।

जग्गा विकास योजनाअनुसार नगरपालिकाको वडा १ मा पाँचसय ८० रोपनी जग्गा सरकारको नाममा सारिएको छ । सो क्षेत्रमा पूर्वाधारयुक्त संरचना निर्माण गरेर पुनः स्थानीयलाई नै जग्गा हस्तान्तरण गरिनेछ । सो क्षेत्रमा ११ किलोमिटर सडक निर्माण हुनेछ । 

यसका साथै एकीकृत सामुदायिक भवन, कृषिउपज सङ्कलन केन्द्र, कार्यालय भवन तथा कर्मचारी आवासगृह निर्माणको काम अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना कार्यालय चौरजहारीका प्रमुख सुशील आचार्यले बताउनुभयो । 

आयोजनाले बजार क्षेत्रमा साढे ७ किलोमिटर सडक कालोपत्रे र ६ किलोमिटर सडक ढल व्यवस्थापनसहित ग्राभेल गर्ने काम सम्पन्न गरेको छ । ‘बजार क्षेत्रमा पनि ढल निकासको काम भइरहेको छ । विभिन्न खण्ड बनाएर निर्माण कम्पनीमार्फत सडक कालोपत्रे, ग्राभेल र ढल निकासको काम भइरहेको छ’ प्रमुख आचार्यले भन्नुभयोे ।

आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार निर्माणको कामले गति लिएको भन्दै उहाँले अहिले सञ्चालन भइरहेका सबै निर्माणका काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

अहिलेसम्म ५० किलोमिटर सडकको ट्रयाक खोलिएको छ । साढे सात किलोमिटर सडक कालोपत्रे भएको छ । यसका साथै पाँचसय ६५ वटा सौर्य बत्ती जडान, चार वटा विभिन्न भवन तथा एउटा बसपार्क निर्माणको काम सम्पन्न भएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । 

ढल, फुटपाथ र नाली बनाउने काम पनि जारी छ । न्यूनतम सहरी सुविधा दिने गरी सहर बनाउने सरकारी योजनाअनुरूपको काम भइरहेको उहाँले जानकारी दिनुभयो । २० वर्षे सहर निर्माणको योजना अन्तर्गत काम थालेको १२ वर्ष पुग्यो । बजेट पर्याप्त भए तोकिएकै समयमा काम गर्न सकिने आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख आचार्यले न्यून बजेट हुँदा काम गर्न कठिन भइरहेको बताउनुभयो । बजेट अभाव हुँदा समयमै ठेक्का लगाउन नसकिएको, काम अपुरो हुनेगरेको, थप बजेट माग गर्नका लागि अर्थ मन्त्रालयमा धाइरहनुपर्ने लगायतका समस्या हुनेगरेको उहाँले जानकारी दिनुभयो ।

सरकारले हरेक वर्ष नयाँ सहर आयोजनाका लागि बजेट विनियोजन गर्नेगरेको छ । पछिल्लो समय सरकारले बजेट कटौती गर्नेगरेको छ । अघिल्लो आर्थिक वर्षमा २५ करोड बजेट पठाएको सरकारले यो वर्ष बजेट कटौती गरेको छ । चालु आर्थिक वर्ष ०८०/८१ मा १७ करोड मात्र बजेट विनियोजन गरेको हो । जसलेगर्दा काम गर्न समस्या हुने आयोजनाले जनाएको छ । आयोजना निर्माण सम्पन्न गर्न दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । - गाेरखापत्रबाट

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्