पाँच गणको सहभागितामा सल्लेमा बाहिनीपति भलिबल प्रतियोगिता सुरु 

सोमबार, भदौ ४, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमस्थित श्री चण्डीदल गण सल्लेमा नेपाली सेनाको बाहिनीपति ट्रफि - २०८० भलिबल प्रतियोगिता सुरु भएको छ । श्री नम्वर १९ बाहिनी अड्डा अन्तरगत रहेका गणहरुका बिचमा भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।

सोमबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा प्रजिअ पन्तले खेलकुद अनुशासन र सीप तथा क्षमता विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । खेलका माध्यामबाट नेपाली सेनाले राष्ट्रको उचाई बढाएको समेत उहाँले चर्चा गर्नुभयो । 

प्रतियोगितामा पाँच जिल्लाका पाँच गणका भलिबल टिम सहभागि रहेका छन् । चण्डीदल गण सल्लेका गणपति बरूण केसी खत्रीका अनुसार प्रतियोगितामा आयोजक चण्डीदल गण रूकुम, बटुक दल गण रोल्पा, सिद्दिबक्स गण सल्यान, बर्दबहादुर गण प्युठान र रणसिंह दल गण दाङले सहभागिता जनाएका छन् ।

प्रतियोगिता पश्चात छनौटमा परेका खेलाडीको टिमले श्री नम्वर १९ बाहिनीको प्रतिनिधित्व गर्दै पृतना ट्रफिका लागी प्रतियोगितामा भाग लिन पाउने गणपति खत्रिले जनाउनुभयो ।  

आगामी बिहिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चण्डीदल गणका गणपति बरुण केसी खत्री, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, सैनिक अधिकृत लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्