पढ्दै कमाउँदै कार्यक्रम

हिमालय माविमा बेमौसमी तरकारीको उत्साहजनक उत्पादन

दैनिक एक क्विन्टल तरकारी उत्पादन, बजारको समस्या
सोमबार, साउन ८, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको हिमालय माध्यमिक बिद्यालय खोलागाउँमा अध्ययनरत बिद्यार्थीहरुले गरेको बमौसमी तरकारी खेतीले उत्पादन दिन थालेको छ । 

बिद्यालयमा सञ्चालित 'पढ्दै कमाउँदै कार्यक्रम' अन्तर्गत गरिएको बेमौसमी तरकारी खेती सफल भएपछि बिद्यार्थीहरुमा थप उत्साह जागेको छ । 

बिद्यालयका प्राचार्य भिमबहादुर ओलीले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत यस सिजनमा गरिएको बेमौसमी तरकारी खेतीको उत्पादन राम्रो भएको बताउनुभयो । उहाँले बिद्यार्थीहरुले गरेको बोडि र भिन्टी बजारमा जान थालेका र गोलभेडा पनि बजारका लागि तयारी हुन थालेको जानकारी दिनुभयो ।

प्राचार्य ओलीले दैनिक एक क्विन्टल तरकारी स्थानीय बजारमा जान थालेको जनाउनुभयो । यसबाट बिद्यार्थीहरु थप उत्साहित भएको उहाँको भनाई छ । 

बिद्यालयले सात रोपनी जग्गा भाडामा लिएर पद्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि उत्पादनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस अघि विद्यालयमा माछापालन कार्यक्रम सञ्चालन गरिएको थियो । माछापालन भन्दा तरकारी उत्पादन कार्यक्रम प्रभावकारी हुँदै गएको बिद्यालयको भनाई छ । 

बिद्यालयमा सञ्चालित १८ महिने जेटिए र बाली विज्ञान संकायको डिप्लोमा तहमा अध्ययनरत बिद्यार्थीहरु यस कार्यक्रममा जोडिएका छन् । प्राचार्य ओलीले जेटिए र बाली विज्ञान अध्ययन गर्दै गरेका ६० जना बिद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रममा जोडिएको बताउनुभयो । 

डिप्लोमा तहको बाली विज्ञान संकायमा अध्ययनरत छात्र प्रकाश डाँगीले उत्पादन भएको बोडि र भिन्टी बजारमा बिक्रि हुन थालेको बताउनुभयो । स्थानीय चौफा बजार, नार्जि बजार र चौरजहारी बजारमा तरकारी बिक्रि हुने गरेको छ । 

उहाँका अनुसार दैनिक एक क्विन्टल उत्पादन हुने तरकारीको बजार भने निराशाजनक अवस्थामा रहेको छ । विद्यालयमै उत्पादनको परिणाम बढ्दै जान थालेको तर बजारीकरणको चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो । डाँगीका अनुसार अहिले दैनिक करिब पाँच –सात हजारको तरकारी बिक्रि भईरहेको छ । 

विद्यार्थीहरु आफै उत्पादनका कार्यमा लागेर बिक्रि गरेको वस्तुको मुल्य बिद्यार्थीहरुको नै हुने गर्दछ । अध्ययनपनि हुने, कमाई पनि हुने भएपछि पढ्दै कमाउँदै कार्यक्रममा आवद्ध बिद्यार्थीहरु झन् उत्साहित भएको बताईएको छ । उत्पादित कृषि उपजको बजारीकरणको माग भने बिद्यार्थीहरुको रहेको छ । 

बिद्यालयका प्राचार्य ओलीका अनुसार उत्पादनको कार्यक्रमसँगै अनुसन्धानको काममा समेत बिद्यार्थीहरु संलग्न बनाईएको छ । बिद्यालयमा चौरजहारी बाह्य अनुसन्धान केन्द्रले पाईलट प्रोजक्टको रुपमा धानको नयाँ जात उत्पादनको कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार धानको नयाँ १२ वटा जातको उत्पादनको लागि रिसर्च भईरहेको र उक्त कार्यमा बिद्यार्थीहरु समेत सिकाईको लागि संलग्न हुने गरेका छन् । नयाँ जात रिलिज हुनुभन्दा अगाडि गरिएको उक्त अध्ययन कार्यक्रमले बिद्यार्थीहरुको सिकाईमा थप कौतुहलता थपिरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्