नेभिगेशन
समाज

ग्याँस उद्योगीको आन्दोलन स्थगीत

काठमाडौँ ।

ग्यास उद्योगीले १० बुँदे माग राखेर गरेको आन्दोलन स्थगित गर्ने भएका छन् । आज साँझ उद्योग वाणिज्य तथा आपूर्तमन्त्री मात्रिका यादवको उपस्थितीमा भएको वार्तामा सहमति जुटेपछि उद्योगीले आन्दोलन स्थगित गर्ने निर्णय गरेका हुन् ।

उद्योगी र विक्रेताको आन्दोलनको कारण बजारमा ग्यास अभाव हुन थालेपछि नेपाल आयल निगमले उद्योगीले वार्तामा बोलाएको थियो ।

आयल निगम र उद्योगीबीच तीन बुदे सहमति भएको छ । यसैवीच सरकारले एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ ।

उद्योगी र बिक्रेताको मिलेमतोमा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो ।

पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीव्र पारिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

नेपाल आयल निगमका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले ग्यास डिपोमा पुगेर ग्यासको मौज्दातको अवस्थाका बारेमा अनुगमन गरेको उहाँले जानकारी दिए ।

अनुगमनका क्रममा ग्यास लुकाएको वा कालोबजारी गरेको पाइए उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिने उनले बताए ।

अनुगमनलाई देशव्यापी बनाउने योजना बनाइएपनि कर्मचारी अभावका कारण प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न नसकिएको बताइएको छ ।

उद्योगीले कमिसन बढाउनुपर्ने भन्दै ग्यासको पिडिओ खरीद गर्न बन्द गरेसँगै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेका छन् ।

बजारमा पर्याप्त ग्यास हुँदाहुँदै बिक्रेताले उद्योगबाट नआएको भन्दै बिक्री बन्द गरेका छन् । नेपाल आयल निगमले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै अभाव नरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज