नेभिगेशन
समाज

सम्झौता भएको तीन महिनापछि विजयश्वरी बैरागीठाँटी सडक स्तरोन्नती र कालोपत्रेको काम सुरु

गुणस्तरिय काम गर्न मन्त्री रोकाको निर्देशन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –२ बिजयश्वरी हुँदै बैरागीठाँटी जोड्ने सडकखण्डमा स्तरोन्नती तथा कालोपत्रको काम सुरु भएको छ । शुक्रबाटबाट उक्त कार्यको शुभारम्भ भएको हो । 

कर्णाली प्रदेश सरकारले विनियोजन गरेको वजेट अन्तर्गत पूर्वाधार विकास कार्यालय चौरजहारीले आह्वान गरेको ठेक्का सम्झौता भएको तीन महिनापछि निर्माण कामको सुरुवात भएको हो । 

पूर्वाधार विकास कार्यालयका इन्जिनियर अशोक यादवले छ किलोमटिर सडकखण्डमा स्तरोन्नती तथा कालोपत्रेको काम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यको जिम्मा नौलो सफल/थानपट्टी महादेव/कालेश्वर जे.भी.ले लिएको छ ।

निर्माण व्यवसायीसँग गत भदौ ३ गते सम्झौता भएको थियो । २०८५ भदौ २० गते सम्म काम सक्ने सम्झौता रहेको यस योजनाको लागि १४ करोड ९९ लाख ९४ हजार ९३१ रुपियाँ विनियोजन भएको थियो । 

कन्टल्जेन्सी बाहेक १२ करोड ४८ लाख ५९ हजार ८३३ रुपियाँको लागत अनुमानसहित ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायीले २८ प्रतिशत कम रकम कबोल गरेपछि आठ करोड ९७ लाख ९० हजार २९१ रुपियाँमा काम सक्ने सम्झौता भएको छ ।

इन्जिनियर यादवका अनुसार बिजयश्वरी बैरागीठाँटी सडकखण्ड अन्तर्गत चौरजहारी नगरपालिका २ को बिजयश्वरी देखि मैलेनाउली नार्जी हुँदै शान्ती बजारसम्म छ किलोमिटर सडकमा स्तरोन्नती, कालोपत्रे तथा आरसिसीको काम हुनेछ । आठ मिटर चौडाइ रहने सडकको दुवैतर्फ एकएक मिटर नालि समेत रहने छ । 

गुणस्तरिय काम गर्न मन्त्री रोकाको निर्देशन

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले शुक्रबार एक कार्यक्रमबीच सडक स्तरोन्नति कार्यको औपचारिक शुभारम्भ गर्नुभएको हो । सडक निर्माण कार्यको शुभारम्भ गर्नुहुँदै मन्त्री रोकाले स्थानीयवासीको समस्या, माग र आवश्यकतालाई मध्यनजर गर्दै लामो पहलकदमीपछि काम सुरु भएको बताउनुभयो । 

निर्माण व्यवसायीलाई गुणस्तरिय काम गर्न निर्देशन दिनुहुँदै मन्त्री रोकाले विकास आयोजनाहरु तोकिएको समयमा र सम्झौताका हरेक बुँदाहरु कार्यान्वयन गरेर गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कर्णाली प्रदेशमा सम्झौता भएर प्रक्रियामा गएका कतिपय आयोजना समयमै सम्पन्न नहुने र अलपत्र अवस्थामा रहने समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले निर्माण सामग्रीको सहज उपलब्धताका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । 

चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प बादीले चौरजहारीवासीको मुख्य आवश्यकताका रुपमा रहेको यो सडक अब समयमै बन्ने विश्वास रहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई काम गर्न आवश्यक वातावरण निर्माण तथा स्थानीय स्रोत सामाग्रीको उपलब्धतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नगर प्रमुख वादीले संघ र प्रदेश सरकारले सञ्चालन गर्ने कतिपय आयोजनाहरु समयमा सम्पन्न नहुँदा स्थानीय तहले समेत आलोचना खेप्नुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ सचेत गराउनुभयो ।  

पूर्वाधार कार्यालयका प्रमुख कृष्ण चपाईले सडक निर्माणमा गुणस्तरलाई विशेष प्राथमिकता दिईने बताउनुभयो । निर्धारित समयभित्र निर्माण सम्पन्न गरी स्थानीयवासीको यातायात आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई उहाँले आग्रह समेत गर्नुभयो ।

सडक स्तरोन्नति भएपछि चौरजहारी, त्रिवेणी, छिमेकी जिल्ला सल्यान लगायतका स्थानीयलाई आवागमनमा सहजता पुग्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्