नेभिगेशन
समाज

सरकारी कार्यालयमा रुकुम प्रशासनको निगरानी

एकैदिन १५ कार्यालयमा छड्के अनुगमन गर्दा ४० कर्मचारी अनुपस्थित

 रुकुम पश्चिमका विभिन्न सरकारी कार्यालयमा बिहिबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीद्वय मानबहादुर ओली र हरिचन्द्र ढकालको नेतृत्वमा भएको अनुगमनका क्रममा कर्मचारीहरुले कार्यालय समयको पालना नगरेको र कार्यालयमा उपस्थित नभएको पाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर ओलीले विभिन्न छ वटा सूचकको आधारमा एकै साथ फरक फरक टिम बनाएर अनुगमन गरिएको जानकारी दिनुभयो ।

उहाँले समय र पोशाकको पालना, दरबन्दी अनुसार कर्मचारी परिपूर्तिको अवस्था, कार्य प्रक्रिया र सेवा प्रवाहको अवस्था, सूचना प्रविधिको प्रयोग एवम् उपकरणको अवस्था, सेवाग्राहीको उजुरी तथा गुनासो गुनासो व्यवस्थापनको अवस्था र सरकारी सवारी साधनको अवस्थाको बारेमा लक्षित भएर अनुगमन भएको बताउनुभयो ।

१५ वटा सरकारी कार्यालयको अनुगमन गर्दा १८६ कर्मचारी उपस्थित भएको र ५७ जना कर्मचारी अनुपस्थित भएको सहायक प्रजिअ ओलीले बताउनुभयो । उहाँका अनुसार उपस्थित भएका मध्य १७३ जनाले समयको पालना गरेका थिए भने १३ जनाले पालना गरेका थिएनन् । त्यसैगरी अनुपस्थित भएका मध्य १७ जनाले काज वा बिदा लिएको पाईएको छ भने ४० जनाले काज वा बिदा नलिएको भेटिएको छ । रात्रीकालिन सेवा तथा फिल्डमा रहेका केहि कर्मचारीहरु यसमा पर्न गएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा २९ जना कर्मचारी पोशाकमा नरहेको पाइएको छ । अनुगमन गरिएका कार्यालयमा कर्मचारीको समय र पोशाक पालनासम्बन्धी सूचकको अवस्था मध्यम रहेको प्रशासनले जनाएको छ । सरकारी सवारी साधनको अवस्था सम्बन्धी सूचक सन्तोषजनक रहेको छ भने अन्य सूचकहरु उत्कृष्ट रहेको निष्कर्ष प्रशासनले निकालेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ओलीले पोशाक नलगाएका, समयमा नआएका, बिदा वा काज नलिई अनुपस्थित भएका कर्मचारीहरुलाई पहिलो पटक सचेत गराईएको जनाउनुभयो । पुनः कमजोरी भेटिएमा कानून अनुसार कारबाहि प्रक्रिया सुरु गर्ने उहाँले उल्लेख गर्नुभयो । प्रशासनले शिक्षा विकास तथा समन्वय इकाई, डिभिजन वन कार्यालय, कृषि विकास कार्यालय, जिल्ला अस्पताल, पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, सामाजिक विकास कार्यालयका अनुगमन गरेको हो ।

त्यसैगरी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, खानेपानी तथा ऊर्जा विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, प्रदेश लेखा इकाई, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कृषि स्रोत तथा नियमन कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय र भूमि प्रशासन कार्यालयमा अनुगमन भएको हो ।

अनुगमनले सरकारी कार्यालयको सेवा प्रवाह तथा व्यवस्थापनमा सुधारका लागि निगरानी बढाएको छ भने सहि मूल्याङकन आवश्यक रहेको देखाएको छ । जिल्लाका अन्य कार्यालय तथा स्थानीय तहहरुमा समेत समन्वय गरेर अनुगमनलाई निरन्तरता दिने योजना रहेको सहायक प्रजिअ ओलीले जनाउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्