नेभिगेशन
समाज

रुकुम घटना : प्रहरी, नेकपा र नगरपालिकाको फरक फरक विज्ञप्ती, वडा अध्यक्ष अस्पताल भर्ना 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष केशरमान बि.क.लाई मंगलबार प्रहरीले पक्राउ गरेको घटना चर्किदै गएको छ । 

प्रहरीले राष्ट्रसेवकलाई बाधा बिरोध गर्ने कसुरमा वडा अध्यक्षलाई पक्राउ गरेको जनाएको छ भने नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले प्रहरी कार्यालयको हिरासतमा राखेर कुटपिट गरेको बताएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय र नेपाली कम्युनिष्ट पार्टी र आठबिसकोट नगपालिकाले अलग अलग विज्ञप्ती जारी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आठबिसकोट नगरपालिका ३ खदी बस्ने वडा अध्यक्ष बिकका सहोदर भाई गोपाल बिक भनिने बिरेन्द्र बिक बिरुद्ध अभद्र व्यवहार शिर्षकमा किटानी जाहेरी परेको थियो ।

गोपाल जिल्ला सदरमुकाम खलंगामै भएको मौकामा प्रहरीले पक्राउ गर्न खोज्दा केशरमानले भाई गोपाललाई भगाएको, कार्यालयबाट खटिएको प्रहरी टोलीसँग बादविवाद गरेको, अश्लिल शब्द प्रयोग गरेर गालीगलौच गरेको, ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्दै कपडा च्यातिदिएकोले वडा अध्यक्ष बिकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

प्रहरीले राष्ट्रसेवकलाई बाधा बिरोध गर्न नहुने मुद्धामा जिल्ला प्रशासनबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको विज्ञप्तीमार्फत जानकारी गराएको छ । 

WhatsApp-Image-2026-10-06-at-8.59.26-PM-1791360163.jpeg
जिल्ला प्रहरी कार्यालयले निकालेको नाेट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले पनि घटना बारेमा विज्ञप्ती जारी गरेर प्रहरीले हिरासतमै कुटपिट गरेर घाईते बनाएको जनाएको छ । पार्टीका जिल्ला संयोजक गोबिन्द रोका र सह संयोजक सुरज परियारले विज्ञप्ती जारी गरेर पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य एवम् वडा अध्यक्षलाई कार्यालयमा बोलाएर कुटपिट गरेको जानकारी गराउनु भएको छ । 

प्रहरी कार्यालय पुग्नसाथ हतकडी लगाएर कुटपिट गर्दा वडा अध्यक्ष बिकको टाउको, अनुहार र घाँटीको भागमा गम्भिर चोट लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रहरीबाट अमानवीय र गैरकानूनी हर्कत भएको पार्टीको भनाइ छ । 

836261589_3139334172928775_6878388343226029796_n-1791360280.jpg
नेपाल कम्युनिष्ट पार्टीले निकालेकाे विज्ञप्ती

यसै बिच घटनाको बिषयमा आठबिसकोट नगरपालिकाले पनि विज्ञप्ती जारी गरेको छ । कार्यवहाक नगर प्रमुख धनकुमारी शाहीले जारी गरेको विज्ञप्तीमा वडा अध्यक्ष केशरमान वि.क. माथि प्रहरीबाट कुटपिट भएको र कर्तव्य पालनाको क्रममा रहेका राष्ट्रसेवक प्रहरी माथि हातपात गरिएको भन्ने सुनिएकोले घटना किन र कसरी भयो, यसको तथ्यपरक छानबिन हुनुपर्ने उल्लेख गरिएको छ । 

विज्ञप्तीमा राप्ती राजमार्ग अन्तर्गत आठविसकोट नगरपालिका वडा नम्वर १, २, ३ जाने सडक निर्माणमा वडा अध्यक्षका भाई गोपाल वि.क.ले बारम्वार बाधा अवरोध गर्ने गरेको, दाँजेबाट खदी स्याला जोड्ने सडकको ठेकेदारले पनि यिनै व्यक्तिहरुले काम गर्न नदिएको गुनासो गर्दै आएको उल्लेख छ । 

आफ्नै गाउँ जाने सडक छिटोछरितो र गुणस्तर बनाउनुको सट्टा निरन्तर अवरोध गर्ने, गराउने कार्यले गर्दा त्यस क्षेत्रका जनता बोल्न नसके पनि गहिरो पीडा सहेर बसेको जनाईएको छ । विज्ञप्तीमा लेखिएको छ, “व्यक्ति विशेषको दादागिरीले जनताको बाटो घाटो नबन्ने स्थिती आउन दिनु हुदैन । प्रशासनले गम्भिरतापुर्वक सो बाटोको काम सुचारु गराउन त्रासमुक्त वातावरणमा विकास निर्माणका काम अघि बढाउन ठोस पहल गरोस् । यी सडकमा निर्माण व्यवसायीहरुलाई विना अवरोध काम गर्ने वातावरण बनाउन राज्य र प्रशासन सँग जोडदार अपिल गर्दछु ।”

यहि सडकखण्डमा पेटी ठेकेदारको रुपमा काम गरेका गोपालले काम सम्पन्न भएको लामो समयसम्म पनि सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै विवाद बढेको थियो । गोपालले भुक्तानी नपाएको झोकमा सडक निर्माणको काम अवरुद्ध गरेपछि मुख्य ठेकेदारले दिएको उजुरी उपर छानबिनको क्रममा उक्त घटना घटेको थियो । 

WhatsApp-Image-2026-10-07-at-11.31.39-AM-1791360366.jpeg
आठबिसकोट नगरपालिकाले निकालेकाे विज्ञप्ती

घाईते वडा अध्यक्षको सुर्खेतमा उपचार हुँदै

उपचारको लागि जिल्ला अस्पताल लिईएका वडा अध्यक्ष बिकलाई थप उपचारको लागि मंगलबार बेलुका नै रिफर गरिएको थियो । उहाँलाई प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरेर उपचार भईरहेको पार्टीका जिल्ला संयोजक गोबिन्द रोकाले जानकारी दिनुभएको छ ।

उहाँले प्रहरी हिरासतभित्र शारीरिक र मानसिक यातना दिएर वडा अध्यक्षलाई घाईते बनाएको उल्लेख गर्नुहुँदै घटनाको सत्यतथ्य छानबिन गरेर कानूनी कारबाही हुुनुपर्ने बताउनुभयो । 

837569690_1072452832276797_2998354541393028842_n-1791360462.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज