नेभिगेशन
समाज

सत्ताईस वर्ष पुरानो शितलपोखरी– झुल्खेत– चुन्वाङ सडकखण्डको स्तरोन्नती सुरु 

सम्झौता भन्दा ६ महिना अघि काम सक्ने निर्माण व्यवसायीको प्रतिबद्धता

सडक निर्माण कार्य सुरु भएको २७ वर्षपछि रुकुम पश्चिमको एक सडकखण्डमा स्तरोन्नती तथा कालोपत्रेको काम सुरु भएको छ । 

जिल्लाको मुसिकोट नगरपालिकास्थित शितलपोखरीबाट झुल्खेत हुँदै चुन्वाङ जोड्ने सडकको आजबाट स्तरोन्नती कार्य शुभारम्भ भएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत आह्वान भएको ठेक्कापछि आजबाट निर्माण व्यवसायीले स्तरोन्नती तथा कालोपत्रे कार्यको सुरुवात गरेका हुन् । 

मुसिकोट नगरपालिका ६ झुल्खेतमा भएको सडक स्तरोन्नती कार्यको शुभारम्भ तथा छलफल कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गोपाल शर्माले जिल्लाको सबैभन्दा पुरानो सडक निर्माणको काम स्तरोन्नती हुँदै कालोपत्रे हुने बताउनुभयो । विगतमा निर्माण कम्पनीले चरम लापरबाहिको कारण ठेक्का रद्ध भएको उल्लेख गर्नुहुँदै यस पटक सबै पक्षको ठुलो मेहेनतबाट नयाँ ठेक्कामार्फत काम हुन थालेको उहाँले जानकारी दिनुभयो ।

IMG_0880-1791476580.JPGठेकेदारको ढिलाई गर्दा जनताले सास्ती पाएको उल्लेख गर्नुहुँदै उहाँले अब नयाँ ठेकेदारलाई फिल्डमै ल्याएर जनतासँग प्रतिबद्धता बनाएकोले तोकिएको समयमै काम हुने विश्वास व्यक्त गर्नुभयो । तत्कालिन नमूना गाउँ चुन्वाङलाई जिल्ला सदरमुकामसँग जोड्न प्राथमिकता दिएर योजना र बजेट व्यवस्थापन गरिदा पनि निर्माण व्यवसायीको कारण योजना अलपत्र पर्न गएको उहाँले बताउनुभयो । अब भने कुनै पनि बहानामा योजनामा ढिलाई हुन नदिने उहाँको भनाइ छ ।  

कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले तोकिएको समयमै काम गर्न निर्माण व्यवासायीलाई निर्देशन दिनुभयो ।

समयमै काम सम्पन्न गरेर असल निर्माण व्यवसायीको भागिदार बन्न र सम्मान ग्रहण गर्ने अवसर सिर्जना गर्न उहाँले आग्रह समेत गर्नुभयो । उहाँले कामको गुणस्तरमा ध्यान दिन समेत निर्देशन गर्नुभएको छ । 

IMG_0841-1791476577.JPGकर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले लगातारको मेहनतपछि कोमामा गईसकेको सडक योजना जीवित भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीयवासीहरु समेत सडक कालोपत्रे हुने कुराले हर्षित भएको उल्लेख गर्नुहुँदै निर्माण कम्पनिलाई पुरापुर सहयोग गर्न तयार रहेको बताउनुभयो ।

छिमेकी जिल्ला मात्र नभएर प्रदेशसँग जोड्ने सडक भएकोले यसलाई समयमै गुणस्तरिय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

IMG_0858-1791476577.JPGकार्यक्रममा ग्रामीण सडक संजाल सुधार आयोजना सुर्खेतका प्रमुख हरि ओलीले निर्माण हुने सडकको डिजाईन तथा योजना र सम्झौता बारेमा जानकारी गराउनुभएको थियो । आयोजना प्रमुख ओलीका अनुसार १८.४ किलोमिटर सडकखण्डमा काम सम्पन्न गर्नको लागि हाल रायमाझी/थुदुङ/पाण्डे जेभिसँग सम्झौता भएको छ ।

गत असोज १ गते सम्झौता भएको यो ठेक्का २०८५ असोज १ गतेसम्म सम्पन्न हुने अवधि रहेको छ । निर्माण कम्पनीसँग ३४ करोड १८ लाख २ हजार ८२९ रुपियाँ ५८ पैसामा सम्झौता भएको छ । 

IMG_0833-1791476574.JPG६ महिना पहिल्यै काम सक्काउने प्रतिबद्धता

यसै बिच निर्माण व्यवसायी हरिबंश पाण्डेले तोकिएको सम्झौता मिति भन्दा ६ महिना अगाडी नै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा उहाँले सबै स्थानीयको सकारात्मक साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । स्थानीयवासी र सरोकारवाला सबैको समन्वयमा गुणस्तरयुक्त काम गरेरै देखाउँने उहाँले जनाउनुभयो ।

उहाँले विगतको कामको अनुभव र भएको जनशक्तिको कारण आफुले तोकिएको समय अगावै काम सक्काउने बताउनुभयो । स्तरोन्नतीका साथै चैत मसान्तसम्म आठ किलोमिटर सडकखण्ड कालोपत्रे गरिसक्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

मुसिकोट नगरपालिका १० का वडा अध्यक्ष धनबहादुर खड्काले २७ वर्षपछि जिल्लाकै पुरानो सडकको काम पुरा हुने आशा जागेको बताउनुभयो । यो सडक २०५६ सालबाट खन्न सुरु भएको थियो । तत्कालिन जिल्ला विकास समितिमार्फत २०७३ सालसम्म बार्षिक रुपमा बजेट विनियोजन हुँदै सामान्य काम हुँदै आएको थियो । २

०७५ सालमा ग्रामिण सडक सुधार आयोजनामार्फत ठेकका लागेको यस सडकको काम लामो समयसम्म अलपत्र रहेको थियो । ठेकेदार कम्पनीको असफलताको कारण २०८१ असार १९ गते ठेक्का रद्ध भएको थियो । एशियाली विकास बैकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत आर्थिक रकमबाट सञ्चालन भएको योजना रद्ध भएपछि पुनः योजना र बजेट व्यवस्थापनका लागि दुई वर्ष विभिन्न प्रयास गरेर यो योजना फेरि सुरु गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । 

स्तरोन्नती शुभारम्भ तथा सो सम्बन्धीको छलफल कार्यक्रममा मुसिकोट नगरपालिकाधका उप प्रमुख बिमल कुमार पुन, कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुन कुमार बम, विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो । 

IMG_0892-1791476580.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज