नेभिगेशन
राष्ट्रिय
प्रकाशकीय

छैटौँ वर्षको यात्रामा मूलपाटी डटकम

नेपालीहरुको महान् चाड बडादसैँको पहिलो दिन ‘घटस्थापना’को शुभ साईतमा सुरु भएको हो, ‘मूलपाटी डटकम’ । यो दिनमा हरेकका घरमा विधिपूर्वक जमरा राख्ने परम्परा छ, हामीले पाँच वर्ष अघि यहि दिनमा विधिपूर्वक मूलपाटीको श्रीगणेश गरेका हौं ।

यो दिनमा रोपिएका जमरालाई “समृद्धि, शुद्धता, शक्ति र विजयको प्रतीक”का रुपमा लिइन्छ । मूलपाटीलाई पनि हामीले “विश्वसनीय, ताजा र निष्पक्ष समाचार” का रुपमा उब्जाएका हौं । 

नेपाली समाजमा पारिवारिक एकता, आपसी सद्भाव, सांस्कृतिक परम्परा र सामाजिक सम्बन्धलाई सुदृढ बनाउने पर्वको सुरुवाती दिन अर्थात असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देशसमेत दिने दिनमा जन्मिएको यो अनलाईनले पनि यिनै महत्वलाई शिरोपर गरेको छ । 

मूलबाटो मिडिया प्रा.लि.द्वारा सञ्चालित मूलपाटी डटकमले आफ्नो पाँच वर्षको गौरवमय प्रकाशन यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको सुखद् खुसीयाली हजुरहरुसँग साट्न पाउँदा हामी हर्षित भएका छौ, थप जिम्मेवारीबोध गरेका छौं  । हामीले कर्णाली प्रदेशको रुकुम पश्चिमलाई मुख्यालय बनाएका छौ, स्थानीय जनजीवन, ग्रामीण समाजका सवाल, विकास निर्माण, सामाजिक न्याय, सुशासन र सार्वजनिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै आएका छौ । सीमित स्रोतसाधन र भौगोलिक कठिनाइका बीच सुरु भएको यसको यात्रा अहिले स्थानीय घटनाक्रम, नागरिकका आवाज र समसामयिक विषयलाई डिजिटल माध्यमबाट पाठकसमक्ष पुर्याउने निरन्तरताको यात्राका रुपमा अघि बढिरहेको छ ।

हामीले स्थानीय आवाजदेखि समसामयिक सवालहरु पछ्याईरहेका छौ । समाचार मात्र हैन, विचार, कला–साहित्य, सामाजिक सञ्जालमा चर्चित विषय, फोटो र भिडियो सामग्रीलगायतका माध्यमबाट आफ्नो सामग्रीको दायरा विस्तार गर्दै आएका छौ । राजनीति, समाज, घटना–दुर्घटना, अर्थ–वाणिज्य, पर्यटन, खेलकुद र कला–संस्कृतिसँग सम्बन्धित विषयलाई समेट्दै आएको अनलाइनले स्थानीयदेखि राष्ट्रिय तहसम्मका घटनाक्रम पाठकसमक्ष पुर्याउने प्रयास गरिरहेको छ ।

समाजमा देखिएका अनियमितता र बेथितिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास, सिर्जनशीलता र सम्भावनालाई समेत स्थान दिनु हाम्रो पत्रकारिताको अर्को महत्वपूर्ण पक्ष हो । सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गराउनु, जिम्मेवार निकायलाई जवाफदेही बन्न प्रेरित गर्नु र समाजमा तथ्यमा आधारित बहसको वातावरण निर्माण गर्नु पनि हाम्रो प्राथमिक लक्ष्य हो । 

पछिल्लो समय सूचना प्रविधिको तीव्र विकाससँगै अनलाइन पत्रकारिताको पहुँच र प्रभाव बढिरहेको छ । तर, यसको विस्तारसँगै गलत सूचना, अपुष्ट सामग्री, भ्रामक शीर्षक र सामाजिक सञ्जालमा फैलिने अफवाहजस्ता चुनौती पनि गम्भीर बन्दै गएका छन् । मूलपाटी डटकमले ‘विश्वसनीय, ताजा र निष्पक्ष समाचार’को मान्यतालाई आफ्नो पहिचानसँग जोड्दै समाचारको तथ्य परीक्षण, विश्वसनीय स्रोतको प्रयोग, विषयको सन्तुलित प्रस्तुति र जिम्मेवार सम्पादनमा थप ध्यान दिईरहेको छ । हामीले ‘समाचारको गति र विश्वसनीयताबीच सन्तुलन कायम गर्नु नै डिजिटल पत्रकारितामा पाठकको विश्वास जोगाउने प्रमुख आधार हो’ भन्ने बुझेरै काम गरिरहेका छौ । 

पाँच वर्षको यात्रालाई उपलब्धिको उत्सवका रुपमा मात्रै नभई आफ्ना कामको समीक्षा गर्ने र आगामी जिम्मेवारी निर्धारण गर्ने अवसरका रुपमा लिएका छौ । पत्रकारिताको विश्वसनीयता ‘पाठकले गर्ने विश्वास’बाट निर्माण हुने भएकाले आलोचना, सुझाव र प्रश्नलाई पनि सुधारका अवसरका रुपमा ग्रहण गरिरहेका छौं । 

छैटौँ वर्ष प्रवेशको यस अवसरमा आगामी दिनमा पनि विश्वसनीय, ताजा र निष्पक्ष समाचार प्रवाह गर्दै नागरिकको सूचनाको अधिकार, सार्वजनिक जवाफदेहिता र समाजको सकारात्मक रुपान्तरणका पक्षमा जिम्मेवार पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौ । यो यात्रामा साथ, विश्वास र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण पाठक, शुभचिन्तक, लेखक, विज्ञापनदाता, सूचनादाता, सहकर्मी तथा सरोकारवालाप्रति आभारसहित हार्दिक धन्यवाद व्यक्त गर्दछौ । 

- मूलबाटो मिडिया प्रा.लि. परिवार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित