नेभिगेशन
राष्ट्रिय

भोटेकोशी बाढी प्रभावितका लागि मुसिकोटले तीन लाख सहयोग गर्ने

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरुको लागि तीन लाख रुपियाँ सहयोग गर्ने भएको छ । 

आज बसेको नगर कार्यपालिकाको ७१ औँ बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको हो । नगर प्रमुख महेन्द्र केसीले बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सो रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार दुई लाख रुपियाँ नगरपालिकाले र ५०/५० हजार रुपियाँ वडा नम्वर २ र १३ ले दिने र उक्त रकम एकमुष्ठ रुपमा जम्मा गर्ने निर्णय भएको हो । बैठकले रसुवा बाढीमा परेर मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त सहयोग गर्ने निर्णय गरेको हो । 

त्यसैगरी मुसिकोट नगरपालिकाको आन्तरिक श्रोतबाट तलब खानेगरी नियुक्त भएका करार सेवाका कर्मचारीहरुको एक दिनको तलब पनि उक्त कोषमा जम्मा गर्ने निर्णय भएको छ । 

विपद्को बेला हातेमालो गर्न र दुःखमा परेकाहरूलाई साथ दिन यो सहयोग गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित