नेभिगेशन
राष्ट्रिय

प्याब्सन रुकुम पश्चिमद्वारा बाढीपीडितको लागि करिब नौ लाख रुपियाँ सहयोग

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) रुकुम पश्चिमले गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरुको लागि करिब नौ लाख रुपियाँ सहयोग गरेको छ । 

प्याब्सनका जिल्ला अध्यक्ष बिमल कुमार शर्माले दिनुभएको जानकारी अनुसार आठ लाख ७२ हजार ९९९ रुपिँया संकलन गरेर सहयोग गरिएको हो । उक्त रकम प्याब्सन राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने अध्यक्ष शर्माले बताउनुभयो । 

उहाँका अनुसार बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सो रकम संकलन गरिएको हो । उक्त रकम प्याब्सनमा आवद्ध रुकुम पश्चिमका विभिन्न १४ वटा निजी विद्यालयहरुबाट संकलन भएको हो । 

प्याब्सन रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका -५ मा रहेको न्यू मुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलले दुई लाख तीन हजार ६६२, मुसिकोट नगरपालिका -१ मा रहेको विजयश्वरी ईङ्लिस मिडियम बोर्डिङ स्कुलले दुई लाख एक हजार ९९४, मुसिकोटकै वडा नम्वर ४ मा रहेको सिस्ने एकेडेमीले ५३ हजार ३३३, वडा नम्वर ५ मा रहेको सिस्ने सनराईज बोर्डिङ स्कुलले ६० हजार, वडा नम्वर ७ मा रहेको साईकुमारी बोर्डिङ स्कुलले २५ हजार १११, वडा नम्वर ६ मा रहेको रुकुमेली ब्राईट फ्युचर बोर्डिङ स्कुलले ५० हजार पाँच, वडा नम्बर १ मा रहेको रातोतारा बोर्डिङ स्कुलले १३ हजार १४ रुपियाँ संकलन गरेका हुन् । 

त्यसैगरी चौरजहारी नगरपालिका -१ मा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलले ५० हजार १०५, आठबिसकोट नगरपालिका ९ मा रहको आठबिसकोट पिस जोन एजुकेशनल एकेडेमीले ५७ हजार एक सय र वडा नम्वर ९ मै रहेको सिर्जना एकेडेमी प्रा.लि.ले ५१ हजार १५१ रुपियाँ संकलन गरेर सहयोग गरेका छन् । 

यसैगरी बाँफिकोट गाउँपालिका -२ मा रहेको नमूना ज्ञान ज्योती ईङ्लिस मिडियम बोर्डिङ स्कुलले २८ हजार ४६५, वडा नम्वर ४ मा रहेको सिस्ने स्यार्पु बोर्डिङ स्कुलले २२ हजार २२२, वडा नम्वर ६ मा रहेको हाईलाईट्स बोर्डिङ स्कुलले ४ हजार २६२ र सानीभेरी गाउँपालिका वडा नम्वर ३ मा रहेको सानीभेरी बोर्डिङ स्कुलले ५२ हजार ५५५ रुपियाँ सहयोग गरेका छन् । 

प्याब्सनका जिल्ला अध्यक्ष शर्माका अनुसार सबै बिद्यालयबाट संकलन भएको रकम प्याब्सन राहत कोषमार्फत एकमुष्ठ रुपमा सहयोग गरिएको हो । उहाँले विपद्को बेला हातेमालो गर्न र दुःखमा परेकाहरूलाई साथ दिन यो सहयोग गरिएको बताउनुभयो । विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयको तर्फबाट उक्त रकम संकलन भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित