नेभिगेशन
समाज
जोखिममा सिम्रुतु बजार

तिन खोलाले घेरेको सिम्रुतु बजार बाढीपहिरोको उच्च जोखिममा

खतराको सूचना दिन प्रशासनले साईरन राख्न पहल गर्ने

राप्ती राजमार्गको छेउमा रहेको रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ स्थित सिम्रुतु बजार तीन तिरबाट आउने खोलाको किनारमा रहेको छ । गाउँपालिकाको मुख्य व्यापारीक केन्द्र रहेको यहि बजार बाढी र पहिरोको उच्च जोखिममा रहेको छ ।  
रुँघा, खारा र मुरुतर्फबाट आएका तिन खोला मिसिएर सिम्रुतु खोला बनेको छ । यहि खोलाको किनारमा बाक्लिदै गएको बस्ती र सार्वजनिक संरचनाहरु जोखिममा रहेका छन् । बर्षामा डरलाग्दो गरेर आउने यी खोलाको कारण यहाँको बजार क्षेत्र जोखिममा रहेको छ । खोला क्षेत्रलाई साँघुरो बनाएर विभिन्न संरचनाहरु बनाईएको र छेउछाउमै बस्ती बाक्लो हुँदै गएकोले ठुलो विपद्को जोखिमको सम्भावना रहेको छ ।  

सिम्रुतुमा १५० बढी घरधुरी रहेका छन् । यसका साथै खोलाको एकातर्फ सिम्रुतु क्याम्पस, त्रिवेणी माध्यमिक विद्यालय लगायत स्थानीयका घरहरु रहेका छन् भने अर्कोतर्फ बजार क्षेत्र रहेको छ । त्यसैगरी प्रहरी चौकी, स्वास्थ्य चौकी लगायतका संरचनाहरु समेत जोखिमपूर्ण स्थानमै निर्माण भएका छन् । 

Jokhim-anugaman_Rukum_Raju-1788082171.JPGसाघुँरो क्षेत्र र खोला नजिक बन्दै गएका घर तथा अन्य संरचनाको कारण खोला नै थुनिने डर रहेको भन्दै स्थानीयले जानकारी गराएपछि जिल्ला सुरक्षा समितिले पनि स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले ठुलो बजार क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो । उहाँका अनुसार खोलाको धार नै बदलेर बनाईएका संरचना, खाराखोला र रुँघाखोलाको बिचमा निर्माणाधिन कभर्डहल, बजार क्षेत्र नै जोखिममा रहेको बताउनुभयो । स्थानीयलाई सचेत र सुरक्षित रहन आग्रह गरिएको उहाँले जनाउनुभयो । 

यसका साथै स्थानीय तहले ठोस योजना निर्माण गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा पठाएमा माथिल्लो निकायमा आवश्यक सुरक्षा तयारीका बारेमा पत्राचार गर्ने सल्लाह भएको छ । उहाँले खोलाले खतराको अवस्था निम्त्याएमा वा खोलाको बहावबारे सूचना दिन साईरन जोड्न तत्काल पहल गर्ने  बताउनुभयो । 

सिम्रुत क्याम्पसका प्रमुख सुर्यबिक्रम खड्काले केहि वर्षपहिला रुँघाखोलाले क्याम्पसमा क्षति गरेको जानकारी दिनुभयो । बर्षौपहिलाको बगरमा उच्च मावि, क्याम्पस र अन्य संरचना बनाउँदा जोखिम कायमै रहेको र अघिल्लो वर्ष रुघाखोलाले क्याम्पसमा क्षति गरेको उहाँले बताउनुभयो । क्याम्पसको सुरक्षाको लागि बलियो वाल र तटबन्धन आवश्यक रहेको उहाँको भनाइ छ । 

त्रिवेणी गाउँपालिका १ का वडा अध्यक्ष सुन्दर ओलीले सिम्रुतु बजारबाट वडा नम्वर १ को रुँघाहुँदै रोल्पा जाने सडकखण्डमा पनि विभिन्न समयमा पहिरो जाने गर्दा सडकको तल्लोतर्फ रहेका विद्यालय, क्याम्पसँगै स्थानीयका घर र सडक माथिल्लो तर्फ रहेका स्थानीयका दर्जनौ घरहरु जोखिममा रहेको बताउनुभयो ।

स्थानीले मुरुडाँडाततर्फ रहेको ठुलो चट्टान फुटेर भासिन थालेकोले ढुङ्गा बजार क्षेत्रमा झर्नसक्ने अर्को जोखिमको खतरा रहेको जनाएका छन् । बजारको माथिल्लो क्षेत्रमा पहिरो वा रुख ढलेर खोला थुनिएमा ठुलो विपद्ले क्षति निम्त्याउने खतरा रहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्