नेभिगेशन
समाज

यार्सागुम्बा, नगद र गरगहना चोरी आरोपमा रुकुमका दुई युवा डोल्पामा पक्राउ

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-२ कलाङमा तीनवटा घरको ताला फोडेर यार्सागुम्बा, सुनचाँदीका गहनासहित नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३७ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ खदीका ३२ वर्षीय निशान भण्डारी छन् । उनीहरूलाई प्रहरीले १० भदौमा डोल्पोबुद्ध गाउँपालिका–१ धोबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गत ८ भदौ राति कालाङमा घरमा कोही नभएको मौका छोपी ताला फोडेर नगद तथा गरगहना चोरी भएको सूचना आएको थियो । सूचनापछि प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिलराज गिरीले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट ७ सय थान यार्सागुम्बा, सुनको जस्तो देखिने चन्द्रमा एक थान, चाँदीजस्तो देखिने बाला दुई थान बरामद गरिएको डिएसपी गिरीले बताउनुभयो । 

त्यस्तै, उनीहरूको साथबाट एक लाख ४८ हजार ६ सय ५० रुपैयाँ नगद, एन्ड्रोइड मोबाइल तीन थान, किप्याड मोबाइल २ थान, स्मार्ट घडी २ थान, पावर बैंक २ थान, टर्चलाइट, घडीका फिता, चाबी, झोलालगायतका सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा प्रयोग भएको आशंकामा खुकुरी/चक्कु २ थान, फलामको रड २ थान, गुलेली, कैँची, लाठी र अन्य सामानसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत डोल्पामा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्