नेभिगेशन
समाज

रुकुम सदरमुकामको सडकमा सर्वसाधारणलाई सास्ती

नेतालाई छैन वास्ता, ‘ठुलाबडा’लाई चिल्लो गाडीमै मस्ती

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको मुख्य बजारमा लामो समयदेखि थुप्रिएको फोहोर र जिर्ण सडकको कारण सर्वसाधारणहरु मारमा परेका छन् । मुख्य बजार र राजमार्गको अवस्था बेहाल हुँदा पनि राजनीतिक दल र जिम्मेवार बोकेका निकायले बेवास्ता गरेको नागरिकको गुनासो रहेको छ । 

फोहोर व्यवस्थापनमा कोशिस गरिरहेको बताउने मुसिकोट नगरपालिकाको प्रयास चोक र सडक छेउमा थुपारिएका फोहोरका थुप्रोसँगै दूर्गन्धित बनिरहेको छ भने मुख्य सडक सर्वसाधारणलाई सास्ती दिने मार्ग बनिरहेको छ । 

राप्ती राजमार्ग अन्तर्गत पर्ने मुसिकोट नगरपालिका ५ को सेरीगाउँ देखि वडा नम्वर १ को पातुखोलासम्मको सडकको अवस्थाले जिम्मेवार निकाय कानमा तेल हालेर बसेको प्रष्ट देखाउँछ । जिल्लाको मुख्य व्यापारीक केन्द्रको मुख्य सडकको अवस्थाले विद्यालय आउजाउ गर्ने बालबालिका, काम बिशेषले खलंगा आउने सर्वसाधारण र कार्यालय आउजाउ गर्ने कर्मचारी समेतले सास्ती बेहोर्ने गरेका छन् । 

sadak-(4)-1787656806.jpegसडकको दर्जनौ स्थानमा रहेका खोल्सा, खोल्सामा जमेको पानी र कालोपत्रे गरिएको सडकमा खोल्सा पुर्न थुपारिएको माटोले राजमार्गलाई कुरुप बनाएको छ । मुसिकोट नगरपालिका १ निवासी झरना बिकले सदरमुकामको मुख्य सडकको यो अवस्थाले बच्चाहरुलाई एक्लै विद्यालय पठाउन डर लाग्ने गरेको बताउनुभयो । साघुँरो सडकको छेउबाट बच्चाहरुलाई डोहो¥याएर लैजाँदा पनि सडकबाट सवारी साधनले उछिट्याउने हिलो र पानीले बर्बाद पार्ने गरेको उहाँले उल्लेख गर्नुभयो । 

स्थानीय व्यवसायी रिमबहादुर खड्काले सदरमुकामको सडकको अवस्था दैनिक लाजमर्दो बन्दै गरेको बताउनुभयो । सडकमा सर्वसाधारणहरु हिड्डुल तथा आउजाउ गर्न सकस हुने गरेतापनि जिम्मेवारी निकायका प्रमुखहरु भने कानमा तेल हालेर बसेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, “ठूलाबडाहरु चिल्लो गाडीमा सिसा बन्द गरेर दैनिक ओहोरदोहोर गर्छन्, उनीहरुलाई त्यसमै मस्ती छ, सडकमा हिड्ने जनतालाई भने सास्ती छ ।” 

sadak-(3)-1787656800.jpegयस बिषयमा उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले राजनीतिक दलहरुको वेवास्ता र जिम्मेवार निकायमा रहेका ठूलाबडाहरुको लापरबाहीले यस्तो अवस्था आएको बताउनुभयो । आँखै अगाडीको विकासको यो हविगत देखेर अहिलेसम्म कुनै पनि राजनीतिक दलले सुधारको लागि पहल गरेको नदेखिएको उहाँको भनाइ छ । 

मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दले बाटोमा सर्वसाधारणले दुःख पाईरहेको बताउनुभयो । उहाँले सडकको मर्मत तथा सुधारका लागि नगरपालिकामार्फत सडक डिभिजन कार्यालयलाई पटक पटक अनुरोध गरिएको जनाउनुभयो । लामो समयसम्म सडक सुधारको पहल नभएको उहाँको भनाइछ । 

यस बिषयमा सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख खोमबहादुर भण्डारीले  सेरीगाउँदेखि मठसम्मको सडक मर्मतको लागि ठेक्का लागि सकेको जानकारी दिनुभयो । उहाँका अनुसार ठेकेदार कम्पनीले गत वर्ष नै ठेक्का पाएको हो । कार्यालयसँग वर्षा लगत्तै काम सुरु गर्ने जानकारी गराएको उहाँले बताउनुभयो । सडक बिग्रेको स्थानमा बलियोरुपमा मर्मत गर्नेगरी ठेक्का लागेको डिभिजन प्रमुख भण्डारीले जनाउनुभयो । 

sadak-(1)-1787656797.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्