नेभिगेशन
समाज
जाजरकाेट पहिराे

भूकम्पले चिरेको रिसाङ बस्ती पहिरोकाे पिरलोमा 

पहिरो पीडित भन्छन्, “बरु घरमै मर्छु भनेर ७५ वर्षीया आमाले घर छोड्न मान्नुभएको छैन, पानी पर्दा घरसँगै आमालाई पहिरोले बगाउँछ कि भन्ने पीरले टेन्टभित्र निन्द्रा पर्दैन, यस्तो सास्ती हामीले कहिले सम्म भोग्नुपर्ने होला ?”

गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका –२ रिसाङस्थित घरमै हुुनुहुन्थ्यो ५४ वर्षीय उमाप्रसाद खत्री । बेलुका पाँच बजे एक घण्टाजति पानी पर्यो, भूकम्पले चर्किएको आँगन, शौचालय र घर पहिरोले बगायो । घरसँगै पहिरोले एकसाथ बगायो उमाप्रसाद र उहाँकी ८३ वर्षीया आमा रती खत्रीलाई पनि । 

सोहि पहिरोमै परेर स्थानीय ७० वर्षीय भिमबहादुर कार्की र ५२ वर्षीय केदार कार्कीले पनि अकालमै ज्यान गुमाउनु पर्यो । दश जना घाईते हुनुभयो अनि १४ घर पुरिए, केहि पशुवस्तु र घरमा रहेका अन्नपात पहिरोमै मिसिए । 

पहिरोबाट प्रभावित रिसाङ गाउँसँग विसं २०८० कार्तिक १७ गते रामीडाँडाको भूकम्पको प्रभाव प्रत्यक्ष रुपमा जोडिएको छ । सोहि भूकम्पले थिलोथिलो पारेको थियो यहाँको जमिन र चर्किएका थिए सर्वसाधारणका घरहरु । त्रिभुवन जनता माध्यमिक विद्यालयका शिक्षक समेत रहनुभएका मृतक भिमबहादुरका छोरा राजेन्द्र कार्कीले प्राकृतिक विपद् व्यवस्थापनको सहि तयारी नहुँदा जाजरकोटले हरेक वर्ष मानविय र भौतिक क्षति बेहोर्दै आएको बताउनुहुन्छ ।

तीन वर्षअघि भूकम्पले गरेको क्षतिको सहि व्यवस्थापन समयमै भएको भए रिसाङ गाउँले धनजनको क्षति बेहोर्ने अवस्था नआउने उहाँको भनाइ छ । चर्किएका घरहरुको पुनर्निर्माण र भासिएको बस्तीको दीर्घकालिन व्यवस्थापनमा ढिलाई हुँदा जाजरकोटका नागरिकले अनेकौ पीडा पाईरहेको कार्कीले उल्लेख गर्नुभयो । 

सोहि वडाका वडाध्यक्ष भीमबहादुर कार्कीले पहिरोमा परेर ज्यान गुमाउनु भएका उमाको परिवार भूकम्पले चर्किएकै घरमा बस्ने गरेको बताउनुभयो । अधिकांस गाउँवासीहरु भूकम्पले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता रहेको उहाँले जनाउनुभयो । वडा कार्यालयका अनुसार यस वडामा मात्र एक हजार ६४ घरधुरी भूकम्प प्रभावित लाभग्राहीको सूचिमा छन् ।

पुनर्निर्माणको पर्खाईमा रहेका लाभग्राही मध्य पहिलो चरणमा २५० घर पुनर्निर्माणको लागि सम्झौता गर्न फाईल अगाडी बढाईएको छ । चर्किएकै घर र बस्तीमा रहँदा थप विपद् सामना गर्नुपरेको उहाँको भनाइ छ । 

वडा अध्यक्ष कार्कीका अनुसार बाढीपहिरोको कारण अहिले रिसाङ गाउँमा रहेका च्याउमुरा, राउटेरिया, सालडाँडा, मेलपानी, बाझपानी, फारुला, झ्यालीखेत, साईपाखापा, सुनारबारा, सिस्नेर, भिमेथान, चिसापानी लगायतका बस्तीका तीन सय बढी यस घरधुरी प्रभावित भएका छन् । भूकम्पपछि यहाँ पानीका मुहान सुकेका थिए । 

Risang-Basti_Jajarkot_Raju-(1)-1787625568.JPGपहिरो प्रभावित ६० वर्षीय ईन्द्रबहादुर थापाले दारखोला र कोटखोला बिचको रिसाङ गाउँ तल्लोभागतर्फ बस्दै गएको र माथिल्लो भागमा खस्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले घर मात्रै चर्काएको छैन, बस्ती नै भासिएका छन् । तर यसतर्फ कसैको ध्यान गएको छैन ।”

हालैको पहिरोपछि स्थानीय सरकारले व्यवस्थापन गरेको सेल्टरमा आश्रय दिनुभएका उहाँले चर्किएको घरमा ७५ बर्षीय आमालाई छोडेर सेल्टरसम्म अन्य परिवारका सदस्यहरु बास बस्न जाने गरेको सुनाउनुभयो । “बरु घरमै मर्छु भनेर आमाले घर छोड्न मान्नुभएको छैन,” थापाले गुनासो गर्नुभयो “पानी पर्दा घरसँगै आमालाई पहिरोले बगाउँछ कि भन्ने पीरले रातभर सुत्न सकिदैन, यस्तो सास्ती हामीले कहिले सम्म भोग्नुपर्ने होला ?”

स्थानीय बलवीर बिकले भूकम्पले क्षति गरेको घरमै बस्ने गरेको तर पहिरोले सबै घर बगाएको बताउनुभयो । उहाँले पहिरो दिउँसो आएकोले भागेर बाँच्न सफल भएको बताउनुभयो । डरलाग्दो आवाजसहित पहिरो आएकोेले भागेर बच्न सफल भएको उहाँले बताउनुभयो । चर्किएको घर पहिरोमै मिसिएपछि बस्ने ठाउँ नै नभएको र सेल्टरमा बस्ने गरेको उहाँले बताउनुभयो ।

भूकम्पले चिरा पारेको जमिन, चर्किएका भवनसँगै गाउँमाथि खनिएको फारुला तिलिङगे हुँदै पोख्रा जाने सडकको कारण ठुलो बाढीपहिरो आएको बलवीरले उल्लेख गर्नुभयो । भएको जग्गा जमिन, खेतीबाली र घर भूकम्प र पहिरोले नष्ट गरेपछि दीर्घकालिन बास र बालबच्चाको भविष्यको पीरलोले सताउन थालेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्