नेभिगेशन
समाज

भूकम्पले चर्किएका घर वर्षाले भत्किए

वि.सं. २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले चकिएका घरहरु लगातारको वर्षाको कारण थप जोखिमपूर्ण बनेका छन् । भूकम्प गएको करिब तीन वर्ष पुग्नैलाग्दा पनि पुनर्निर्माणले गति लिन नसक्दा वर्षायाममा भूकम्पपीडितहरु थप प्रभावित बनेका छन् । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१ का वडा अध्यक्ष टेकबहादुर पुनले गत साउन ३१ गते यता लगातार परेको वर्षाका कारण भूकम्पले चर्किएका घरहरु भत्किन थालेको बताउनुभयो । उहाँले वडाको भण्डारवन टोलका दलबहादुर पुनको घर पूर्णरुपमा भत्किएको बताउनुभयो ।

दलबहादुरका जस्तै सयौ घरहरु चर्किएकै अवस्थामा रहेकोले थप जोखिम बढीरहेको उल्लेख गर्नुभयो । वडा अध्यक्ष पुनले भन्नुभयो, “रातभर पानी पर्यो, दिउँसो घर भत्कियो, दिउँसो भएकोले मानविय क्षति हुनबाट जोगियो ।” भूकम्पले जर्र्जर बनाएका अन्य घरहरु पनि भत्किएको उहाँले बताउनुभयो । 

भूकम्पको कारण जाजरकोट, रुकुम पश्चिम र सल्यानमा क्षति भएका घरहरु उचित व्यवस्थापन तथा चर्किएकै अवस्थामा रहेका छन् । जोखिमपूर्ण अवस्थाका घरहरु भत्काउने तथा व्यवस्थापन गर्ने जनशक्ति नभएकोले उस्तै अवस्थामा छोडिएको थियो । करिब तीन वर्षसम्म पुनर्निर्माणको काम नहुँदा जोखिम अवस्थाकै घर सर्वसाधारणहरुले उपयोग गर्न थालेका छन् । 

भूकम्पपछि निर्माण गरिएका अस्थायी टहरा जस्तापाताले बनाएको, साँघुरो, गर्मीयाममा पोल्ने र जाडोमा थप चिसो हुने भएकोले अधिकांस सर्वसाधारणहरु चर्किएकै घरमा बसिरहेका छन् । जुन अत्यन्तै जोखिमपूर्ण काम भएको आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले बताउनुभयो । उहाँले सरकारले पुनर्निर्माणको काममा ढिलाई गरेकै कारण चर्किएको घरमा भूकम्पपीडितहरु बस्न थालेको बताउनुभयो । ती घरहरु लगातारको वर्षाले जुनसुकै बेला भत्किने अवस्थामा रहेकोले यसले अर्को क्षति निम्त्याउने खतरा रहेको उहाँको भनाइ छ । 

भूकम्पको कारण चिरा परेको जमिन समेत अहिले पहिरोेको जोखिममा छन् । भूकम्पले कमजोर बनाएरको भूभाग लगातारको वर्षाको कारण पहिरोमा परिणत हुँदा आठबिसकोट नगरपालिका -१४ स्थित आदर्श माध्यमिक विद्यालयमा क्षति पुगेको छ । विद्यालय भवन भन्दा माथिबाट आएको पहिरोको कारण विद्यालय र स्थानीय सुग्रिप ओलीको घरमा क्षति भएको छ । 

जिल्लाका विभिन्न स्थानका भूकम्पपीडितहरु बर्षाको कारण भत्किन थालेपछि पुनर्निर्माणलाई प्राथमिकता दिन थालिएको छ । गत साता मात्र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ७६६ जना लाभग्राहीको आवास निर्माणको लागि पहिलो किस्ताको रकम माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार भूकम्प प्रभावित निजि आवास पुनर्निर्माण कार्यविधि, २०८० (संशोधनसहित) बमोजिम सम्झौता गरी आवश्यक कागजात तथा प्रक्रिया पुरा गरेका लाभग्राहीहरुको लागि आवास निर्माणको लागि राष्ट्रिय विपद् जोखिम न्यूनकिरण तथा व्यवस्थापन प्राधिकरणमा प्रथम किस्ताको रकम निकासाको लागि अनुरोध गरिएको छ ।

प्रशासन कार्यालयको तथ्याङक अनुसार भूकम्पको कारण घर क्षति भएका ३० हजार ८५० जनाको क्षतिको विस्तृत विवरण प्राधिकरणले तयार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्