नेभिगेशन
समाज
पूनर्निर्माण

रुकुममा भूकम्पले भत्किएका २७ विद्यालय भवन पूनर्निर्माण

रुकुम पश्चिममा भूकम्पले भत्किएका २७ वटा सामुदायिक विद्यालयका भवनहरु पुनर्निर्माण भएका छन् ।

विसं २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रष्त भवनहरु कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालयमार्फत पुनर्निर्माण भएका हुन् । पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार रुकुम पश्चिममा पुनर्निर्माणका लागि छनौट भएका ४३ विद्यालय मध्य २७ विद्यालय भवन पुनर्निर्माण भएका छन् ।

गत आर्थिक वर्ष ०८२/०८३ मा २७ विद्यालय पुनर्निर्माण भएका छन् भने बाँकि १६ विद्यालय चालु आवमा पुनर्निर्माणको प्रक्रियामा रहेका छन् ।  कर्णाली प्रदेश सरकारबाट स्वीकृत भूकम्पबाट क्षतिग्रष्त भवन पुनर्निमाण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ बमोजिम आर्थिक वर्ष ०८१/०८२ र ०८२/०८३ मा विनियोजित वजेटबाट यी भवनहरु पुनर्निर्माण भएका हुन् ।

कार्यालय प्रमुख बिसीले यी दुई आर्थिक वर्षमा रुकुम पश्चिमका छ वटै स्थानीय तहमा भूकम्पबाट क्षतिग्रष्त सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण कार्यक्रम अन्तर्गत ३८ करोड ५० लाख रुपियाँ प्रदेश सरकारले विनियोजन गरेको जानकारी मूलपाटीलाई दिनुभयो । सोहि रकमबाट २७ वटा सामुदायिक विद्यालय भवन पाँच वटा स्वास्थ्य संस्था समेत निर्माण भएका हुन् । यी भवन निर्माणका लागि २३ करोड ४७ लाख छ हजार ८७७ रुपियाँ खर्च भएको छ । विद्यालय भवन निर्माणका लागि प्रति विद्यालय ७० देखि ७५ लाखसम्म विनियोजन भई ठेक्का आह्वान भएको थियो । 

कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा चार वटा, मुसीकोट नगरपालिकामा चार वटा, आठबिसकोट नगरपालिकामा छ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । त्यसैगरी बाँफिकोट गाउँपालिकामा तीन वटा, त्रिवेणी गाउँपालिकामा पाँच र सानीभेरी गाउँपालिकामा पाँच वटा भवन पुनर्निर्माण भएका छन् । कार्यालयका प्रमुख बिसीले ठेक्का प्रक्रियाबाट खरिद भई यी योजना सम्पन्न भएको बताउनुभयो । भूकम्पले क्षति भएका अन्य सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणको काम यस वर्ष सम्पन्न हुने कार्यालयले जनाएको छ । 

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले भूकम्पले ढलेका विद्यालयका भवनहरु पुनर्निर्माणसँगै शैक्षिक अवस्था लयमा फर्किन थालेको बताउनुभयो । उहाँले प्रदेश सरकारसँगै संघीय सरकार, एडिबी लगायतका निकायले पनि पुनर्निर्माणका सहयोग गरेको बताउनुभयो ।

चौरजहारी नगरपालिका –५ मा रहेको माध्यमिक विद्यालय खहरेका प्रधानाध्यापक चक्रप्रसाद शर्माले प्रदेश सरकारको सहयोगका चार कोठे भवन निर्माण भएको बताउनुभयो । विद्यालयको भवन भुकम्पले क्षति गरेपछि केहि समय भवनको समस्या झेल्नुपरेको बताउँनुहुँदै उहाँले अब भने पक्कि भवनमा निर्धक्कले पठनपाठन भईरहेको जनाउनुभयो ।

आठबिसकोट नगरपालिका –१० स्थित सरस्वती आधारभूत विद्यालय मैडाँडाका प्रधानाध्यापक अमर मल्लले पूर्वाधार विकास कार्यालयमार्फत दुई कोठे विद्यालय भवन निर्माण भएको बताउनुभयो । भूकम्पपछि अस्थायी टहरामा पठनपाठन हुँदै आएको र अब दुई वटा कक्षा नयाँ भवनमा सञ्चालन गर्न लागिएको उहाँले जनाउनुभयो । अन्य कक्षाकोठाहरु भने अस्थायी टहरामै सञ्चालन गर्नुपरेकाले थप भवनहरु आवश्यक रहेको उहाँले जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्