नेभिगेशन
समाज

जाजरकाेटकाे जुनीचाँदेमा खोलाले बगाउँदा दुई जना बेपत्ता

अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी जाजरकोटको जुनीचाँदे गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् ।

जुनीचाँदे गाउँपालिका –६ डोग्रामा डोग्राखोला थुनिएर फुट्दा आएको बाढीमा परेर स्थानीय ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता हुनुभएको हो । शुक्रबार बिहान करिब २ बजे परेको अविरल वर्षाका कारण खोला थुनिएर जम्मा भएको पानी एक्कासि फुट्दा पानीघट्ट सञ्चालन गर्न जानुभएका सिंह सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक बुद्धीसागर पुरीले जानकारी दिनुभयो । 

त्यसैगरी सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापा सेती खोलाले बगाउँदा बेपत्ता हुनुभएको छ। बुधबार साँझ करिब ७ बजे गोठबाट घरतर्फ फर्कने क्रममा थापालाई सेती खोलाले बगाएको प्रहरीले जनाएको छ। घटनाबारे बिहीबार बिहान करिब १० बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। 

बाढीले सोही क्षेत्रमा रहेका आठदेखि १० वटा पानीघट्टसमेत बगाएको प्रहरीले जनाएको छ। दुवै बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज