नेभिगेशन
समाज

भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत

नगरवासीको स्वाभिमानले जितेको छ : नगर प्रमुख वादी

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीलाई आज एक कार्यक्रमका बिच चौरजहारी नगरपालिकामा स्वागत गरिएको छ । 

भ्रष्टाचार मुद्धामा पदमुक्त हुनुभएका उहाँलाई अदालतले सफाय दिएपछि आज पहिलो पटक नगरपालिका आउँदा स्वागत गरिएको हो । उहाँलाई स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीहरुले स्वागत गर्नुभएको हो । 

करार कर्मचारीको सेवा नविकरणको लागि घुस मागेको आरोपमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँ बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको थियो । मुद्धा दायर भएसँगै गत चैत ५ गतेदेखि उहाँ पदबाट स्वतः निलम्बनमा पर्नुभएको थियो । 

तर साउन २६ गतेको बिशेष अदालतको निर्णय अनुसार उहाँले उक्त मुद्धामा सफाय पाउनु भएको छ । सफाय पाएपछि भदौ १ गते उहाँ नगरपालिका कार्यालयमा आउनुभएको हो । 

स्वागत कार्यक्रममा नगर प्रमुख वादीले न्यायको जित भएपछि १३३ दिनपछि नगरपालिकाको नियमित काममा फर्किएको बताउनुभयो । उहाँले यो व्यक्तिगत लडाई नभएर आम नगरवासीको स्वाभिमानको लडाई भएकोले ढिलै भएपछि स्वाभिमानको जीत भएको उल्लेख गर्नुभयो ।  

नगर प्रमुख वादीले यस घटनाले अरुलाई पनि सबक सिकाएको र न्याय मर्दैन भन्ने विश्वास बढेको बताउनुभयो । यस क्रममा आफूलाई अमूल्य मत दिने नगरवासीको अपेक्षा अनुसार काम गर्ने उहाँले बताउनुभयो । 

नगर प्रमुख वादीले जालझेल र षड्यन्त्रपूर्वक आफू माथि आरोप लगाईएको र अदालतले जनताको पक्षमा फैसला गरेर न्याय दिलाएको उल्लेख गर्नुभयो । अब फेरि असमझदारीहरु सुल्झाएर नयाँ शिराबाट अगाडी बढ्ने र आफ्नो असल कर्मबाट जनताको विश्वास आर्जन गर्नेमा आफु प्रतिबद्ध भएको नगर प्रमुख वादीले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्