नेभिगेशन
समाज

अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका विभिन्न ५ वटा वडाका अगुवा किसानहरुलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी तालिम प्रदान गरिएको छ । 

नागरिक समाज सबलीकरणमार्फत भूकम्प प्रभावित घरपरिवारहरूको खाद्य सुरक्षा तथा उत्थानशील जीविकोपार्जन (SUSTAIN) परियोजना अन्तर्गत आठविसकोट नगरपालिका वडा नम्वर ७, ९, १०, ११ र १२ का कृषक समूहका अगुवा किसानहरूलाई तालिम दिईएको हो । 

पाँचदिन सम्म सञ्चालित यो तालिम BMZ/WHH को आर्थिक तथा प्राविधिक सहयोग तथा RRN, FTGN र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र नेपालको आयोजनामा सम्पन्न भएको हो । परियोजनाका संयोजक उदय के.सी.का अनुसार जलवायु उत्थानशील तथा दिगो कृषि प्रणालीको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सुधार र स्थानीयस्तरमै किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममा जलवायु उत्थानशील कृषि अभ्यास, पोषण संवेदनशील कृषि तथा LANN+ का व्यावहारिक उपाय, एकीकृत रोग–कीरा व्यवस्थापन, गुणस्तरीय बीउ छनोट तथा व्यवस्थापन, साथै किसान सिकाइलाई प्रभावकारी रूपमा सहजीकरण गर्ने सहभागीमूलक तथा वयस्क सिकाइ विधिबारे अभ्यास गराइएको उहाँले जानकारी दिनुभयो। तालिममा एक दिनको प्रयोगात्मक फिल्ड कक्षासमेत सञ्चालन गरिएको थियो।

WhatsApp-Image-2026-08-17-at-9.06.42-AM-1786939075.jpegतालिममा WHH का प्राविधिक संयोजक गोविन्द ढकाल, आठविसकोट नगरपालिका कृषि शाखाका प्रमुख गोपालकृष्ण साह, प्रा.स. अनिराज शाही, SUSTAIN Project का परियोजना संयोजकद्वय उदय के.सी. र  नागेन्द्र प्रसाद भट्ट, जुनियर प्राविधिक अधिकृत बिमला बिष्ट मगर र श्रीकुमार बुढाले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो। तालिममा २१ वटा कृषक समूहका २१ जना महिला अगुवा कृषक तथा ५ जना चेन्ज एजेन्ट गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रममा सहभागीका तर्फबाट भयाँउने कृषक समूहकी अगुवा कृषक बिर्मी कामीले तालिमबाट कृषि तथा पोषणका विभिन्न विषयमा व्यवहारिक ज्ञान र नयाँ दृष्टिकोण प्राप्त भएको बताउँदै सिकेका ज्ञान तथा सीपलाई आफ्ना समूहका अन्य किसानहरूसँग बाँड्ने र व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कार्यक्रमका प्रमुख अतिथि तथा आठविसकोट नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष जनक बटालाले किसानको आवश्यकता र प्रतिबद्धताका आधारमा वडा तथा नगरपालिकाबाट आवश्यक सहयोग गर्न सकिने बताउँदै उत्पादन भएका कृषि उपजको बजारीकरणमा समेत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रमा गरिएको लगानीलाई प्रभावकारी बनाउन किसानहरू स्वयं पनि जागरुक, सक्रिय र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा साझेदार संस्था स्वच्छ व्यवसायी समूह नेपालका परियोजना संयोजक नागेन्द्र प्रसाद भट्ट र WHH का प्राविधिक संयोजक गोविन्द ढकालले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई समुदायस्तरमा प्रभावकारी रूपमा हस्तान्तरण गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

आठविसकोट नगरपालिका प्रतिनिधि तथा वडा नम्वर ९ का वडाध्यक्ष जनक बटालाको प्रमुख आतिथ्यता र मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन मिक नेपालका परियोजना संयोजक उदय के.सी.ले गर्नुभएको थियो।

तालिमले अगुवा किसानहरूलाई समुदायस्तरमा ज्ञान, सीप र व्यवहार परिवर्तनका स्थानीय स्रोत व्यक्तिका रूपमा परिचालन गर्दै जलवायु उत्थानशील कृषि, दिगो खाद्य उत्पादन र परिवारको खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

WhatsApp-Image-2026-08-17-at-9.11.00-AM-1786939074.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्