नेभिगेशन
समाज

जिल्ला अस्पताल सल्लेमा बिरामीको चाप, डाक्टरको अभाव

आठ जनाको दरबन्दी, दुई चिकित्सक मात्रै कार्यरत

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा रहेको जिल्ला अस्पताल सल्लेमा दैनिक बिरामीको चाप बढिरहको छ । तर चिकित्सकको अभावले बिरामीहरु मर्कामा परेका छन् । 

स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको यस अस्पतालमा बर्षायाम सुरुभएसँगै बिरामीहरुको संख्या बढीरहेको छ । रुघाँखोकी, ज्वरो, पखाला लगायत मौसमी फ्लुका बिरामीहरु बढीरहेको बेला चिकित्सक अभावमा बिरामीहरुले समयमै उपचार नपाएको गुनासो गरेका छन् । 

बिशेषज्ञसहित आठ जना चिकित्सकको दरबन्दी रहेको यस अस्पतालमा हाल तीन जना मात्रै कार्यरत हुँदा सेवा प्रवाहमा असर परेको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीका अनुसार चार जना बिशेषज्ञ र चार जना मेडिकल अधिकृतको दरबन्दी रहेको यस अस्पतालमा हाल एक जना स्त्रीरोग बिशेषज्ञ र एक जना मेडिकल अधिकृत कार्यरत हुनुहुन्छ । अस्पतालले आन्तरिक कोषबाट एक जना हाडजोर्नी तथा नशा रोग बिशेषज्ञको व्यवस्था गरेको छ । 

जिल्लाको सबैभन्दा ठुलो अस्पतालमा दैनिक १५० बढी बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत ओलीले जानकारी दिनुभयो । केहि दिन यता अस्पतालका व्यवस्थापक तथा स्त्रीरोग बिशेषज्ञ डा. जीवन परियार उपचारको लागि जिल्ला बाहिर रहेकोले एकजना मेडिकल अधिकृतको भरमा अस्पताल चलिरहेको छ ।

कर्णाली प्रदेशअन्तर्गतको यो अस्पतालमा विगतमा संघ तथा प्रदेशबाट छात्रवृत्ति करारमा चिकित्सकहरु आउने गरेकोमा विगत २ महिनायता ती सबै चिकित्सकहरुको निर्धारित सेवा अवधि सकेर गएको कारण जनशक्तिको समस्या देखिएको छ ।  

जिल्लाको ठुलो र सरकारी अस्पताल भनेर आउने कतिपय बिरामीहरु चिकित्सकको चेकजाँच बिनै सामान्य उपचार गरेर नीजि अस्पतालमा जान बाध्य भएका छन् । रुकुम पूर्वको सिस्ने गाउँपालिका –३ बाट उपचारका लागि आउनु भएका लक्ष्मण लामिछानेले बिरामीको चाप भएको बेला एक जना मेडिकल अधिकृतको भरमा अस्पताल चलिरहेको बताउनुभयो । एक जना मेडिकल अधिकृतले मात्रै दैनिक बिरामीहरुको चेकजाँच तथा उपचार धान्नुपर्ने अवस्था रहेकोले कतिपय बिरामीहरु निराश भएर फर्कने गरेको उहाँले उल्लेख गर्नुभयो । 

त्रिवेणी गाउँपालिकाबाट उपचार सेवा लिन आउनु भएकी नबिना पुनले पालो आउन घण्टौँ लाइन बस्नुपर्ने र त्यसपछि पनि डाक्टरसँग भेट्न मुस्किल हुने अवस्था देखेपछि निजी क्लिनिकमा गएर उपचार गरेको बताउनुभयो । बिरामीहरु लामो समयसम्म प्रतिक्षालयमै कुर्नपर्ने अवस्था देखिएको पुनले उल्लेख गर्नुभयो । 

अस्पतालले यो समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष दरबन्दीअनुसारका चिकित्सक माग गरिएको र अन्य तीन जना चिकित्सकलाई आन्तरिक आम्दानीबाट व्यवस्थापन हुने गरी करार सेवामा राख्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ । यस अस्पतालमा रुकुम पश्चिमसँगै छिमेकी जिल्लाहरु रुकुम पूर्व, सल्यान, जाजरकोट, डोल्पा र रोल्पाबाट समेत सेवाग्राहीहरू आउने गरेका छन् ।

जम्मा १५ शैयाका लागि स्वीकृत दरबन्दीले अहिले करिब ४० वटा शैयाबाट उपचार सेवा दिइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्