नेभिगेशन
समाज

पहिरो पन्छाएपछि खुल्यो मध्यपहाडी, जोखिम भने कायमै

लगातारको वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी राजमार्गको रुकुम-बागलुङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

बुधबार बेलुकीदेखि अवरुद्ध भएको सडक बिहीबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान ६ बजेदेखिको अथक प्रयासपछि सडकको अवरोध हटाई यातायात सेवा सुचारु गरिएको हो।

प्रमुख जिल्ला अधिकारी राईसहितको सुरक्षा निकायका प्रमुख पहिराको अवरोध हटाउन आवश्यक समन्वयका लागि पहिरो गएकै स्थानमा पुग्नुभएको थियो। स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय पालिकाहरूको सक्रियतामा पहिरो हटाइएपछि यातायात सञ्चालनमा आएको हो।

जिल्लाको भूमे गाउँपालिका-५ स्थित धौलापहिरो, वडा नम्बर ४ को काँडाबगर लगायतका क्षेत्रमा आएको पहिराले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेले सडक पूर्ण रूपमा सञ्चालनमा आएको भए पनि जोखिम भने कायमै रहेको बताउनुभयो। उहाँका अनुसार पहिरो गएका स्थानहरूमा माथिल्लो भागबाट गेग्रानसहितको पहिरो खस्ने सम्भावना अझै रहेको छ।

प्रहरीले मध्यपहाडी राजमार्ग भई यात्रा गर्ने यात्रीहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। डीएसपी पाण्डेले पहिरो खस्ने जोखिम कायमै रहेकाले पूर्वसावधानी अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न आग्रह गर्नुभएको छ। 

सडकको पहिरो पन्छाएपछि रोकिएका यातायातका साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा, काठमाडौँका लागि छुटेका र मध्यपहाडी हुँदै रुकुमतर्फ आउने सवारी साधनहरू अहिले निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्