नेभिगेशन
समाज

नदिजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने चार सवारी साधन र चार चालक पक्राउ

रुकुम पश्चिम प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको विभिन्न स्थानबाट चारवटा सवारी साधन र चारजना चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले मुसिकोट नगरपालिका ११ र बाँफिकोट गाउँपालिका १० को गाराघाटबाट सवारी साधन नियन्त्रणका लिएको जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोट नगरपालिका ११ को  खहरे जङ्गलस्थित गोताबाङ जाने भित्रि सडकखण्डमा नदीजन्य गिट्टी बालुवा (मोरङ) उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा तीनवटा टिप्पर नियन्त्रणमा लिईएको हो । 

लु.प्र. ०२००१ ख ०३४०, बा. प्र. ०३००१ ख १३९२ र रा १ ख २९३६ नम्वरको टिप्पर र तीनै जना चालकलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । पक्राउ पर्ने चालकहरुमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ निवासी २४ वर्षीय दिलिप राना, सल्यानको बागचौर नगरपालिका ४ निवासी ३२ वर्षीय लोकेश सुनार र सल्यानको कपुरकोट गाउँपालिका ४ निवासी २४ वर्षीय जगत बुढा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले नियन्त्रणपछि आवश्यक कारबाहीका लागि चालक र सवारी साधनलाई मुसिकोट नगरपालिका पठाई ४५ हजार जरिवाना राजस्व रकम दाखिला गरी छाडिएको बताएको छ ।

त्यसैगरी मङगलबार बाँफिकोट गाउँपालिका १० गाराघाटस्थित भेरी नदिबाट अवैध रुपमा बालुवा उत्खनन् र ओसारपसार गरिरहेको एकवटा ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । लु ४ त ९७६६ नम्वरको ट्याक्टर र चालक बाँफिकोट गाउँपालिका १० निवासी ३० वर्षीय डम्बर बिकलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक परियारले बताउनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिईएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहिको लागि बाँफिकोट गाँउपालिका पठाईएकोमा गाउँपालिकाले पाँच हजार जरिवाना गरेको छ । राजस्व दाखिला गरेपछि सवारी साधन र चालकहरुलाई छोडिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्