नेभिगेशन
समाज

सानीभेरी गाउँपालिकाको गाउँसभा स्थगित

कर्मचारीको निधनपछि पालिकामा शोक बिदा

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । आजका लागि तय भएको गाउँ सभा स्थगित भएको गाउँपालिका उपाध्यक्ष कमला रोकाले जानकारी दिनुभयो । 

गाउँपालिका अन्तर्गत सानीभेरी गाउँपालिका अस्पतालमा कार्यरत कर्मचारी रामबहादुर ओलीको निधनपछि आजलाई राखिएको गाँउ सभा स्थगित भएको हो ।

अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत ४७ वर्षीय ओली आईतबार दिउँसो नुहाउने क्रममा सानीभेरी नदिमा बेपत्ता हुनुभएको थियो । आज बिहान वडा नम्वर ३ र ४ को सिमाना नयाँ खोलामा उहाँको शव फेला परेको हो । 

गाउँपालिका उपाध्यक्ष रोकाले अस्पतालमा कार्यरत कर्मचारीको निधनको खबरले सिंगो गाउँपालिका स्तब्ध र मर्माहत भएको बताउनुभयो । उहाँले आज तोकिएको सानीभेरी गाउँपालिकाको गाउँ सभा समेत स्थगित गरेको जानकारी दिनुभयो । 

यसैगरी गाउँपालिकाले आज पालिका र मातहतका सबै कार्यलयमा शोक बिदा समेत दिएको प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिनुभयो । कर्मचारीको निधनपछि गाउँपालिकामा शोक बिदा दिइएको हो ।

उहाँले आज स्थगित भएको गाउँ सभा आगामी असार १० गते हुने बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्