नेभिगेशन
समाज

अपाङ्गता भएका व्यक्तिहरुलाई मौरीपालनसम्बन्धी तालिम प्रदान

रुकुम पश्चिममा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूलाई मौरीपालन तालिम दिईएको छ । 

अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउँदै आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा तीन दिने व्यावसायिक मौरीपालन तालिम सम्पन्न गरिएको हो । 

मंसिर २ गतेदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो। तालिममा मौरीपालन व्यवसाय सुरु गरेका ५ जना महिला र ५ जना पुरुष गरी जम्मा १० जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।

चौरजहारी नगरपालिका वडा नम्वर १४ नुवाकोटस्थित उन्नती अपाङ्गता समूहका सदस्यहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउँदै उनीहरूको आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

चौरजहारी नगरपालिकाले यसअघि नै उन्नती अपाङ्गता समूहलाई मौरीघारसहित मौरी उपलब्ध गराएको थियो। नगरपालिकाबाट प्राप्त स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै समूहका सदस्यहरूलाई व्यावसायिक मौरीपालनमा दक्ष बनाउने र यसलाई दिगो आयआर्जनको माध्यमका रूपमा विकास गर्ने उद्देश्यले मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत सञ्चालित राइज अप परियोजनाको आयोजना तथा चौरजहारी नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको परियोजना संयोजक सन्देश जैसीले जानकारी दिनुभयो।

संयोजक जैसीका अनुसार मौरीघार तथा मौरीको उचित व्यवस्थापन, मौरीपालनसम्बन्धी व्यावहारिक सीप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उपलब्ध स्रोतसाधनलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्धेश्यले तालमि दिईएको हो । 

तालिमलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत सिकेका सीपलाई व्यवहारमा उतार्न सकून् भन्ने उद्देश्यले किसानहरूको गाउँटोल तथा मौरीपालन भइरहेको स्थानमै पुगेर तालिम सञ्चालन गरिएको थियो। यस क्रममा सहभागीहरूलाई मौरीघारको प्रत्यक्ष अवलोकन, व्यवस्थापन तथा मौरीको हेरचाहसम्बन्धी अभ्यास गराइएको थियो।

तालिमको सहजीकरण चौरजहारी नगरपालिकाका कृषि अधिकृत विमल खड्का, प्रकाश खड्का तथा विगत १० वर्षदेखि मौरीपालन व्यवसायमा संलग्न सफल मौरीपालक कृषक दीपक बारघरेले गर्नुभएको थियो।

तालिमका क्रममा मौरीपालनको आधारभूत ज्ञान, मौरीघार व्यवस्थापन, मौरीको हेरचाह, मह उत्पादन, मौरीमा लाग्ने रोग तथा कीराको पहिचान र रोकथामलगायतका विषयमा जानकारी प्रदान गर्नुका साथै प्रत्यक्ष व्यावहारिक अभ्यास गराइएको थियो।

तालिमले व्यवसाय सुरु गरिसकेका समूहका सदस्यहरूलाई मौरीपालनसम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गर्नुका साथै उपलब्ध मौरीघार तथा मौरीको प्रभावकारी उपयोग गरी व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट उनीहरूको उत्पादन तथा आम्दानी वृद्धि भई आर्थिक आत्मनिर्भरताको यात्रामा अघि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ।

राइज अप परियोजनाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा जीविकोपार्जनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज